
काठमाडौं । सोमबारदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन् । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।
सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।
बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो ।
कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services