‘सिर्जना संगम’मा पोखिए श्रस्ताका भावना
प्रकाशित मितिः2 years ago

सिड्नी । साहित्य र सिर्जनामा रमाउनेहरुलाई ‘सिड्नी’ भन्दा उपयुक्त ठाउँ अरु कहाँ होला र ? यहाँको विकास, प्रगति, उन्नति र सभ्यताको हरेक तहमा साहित्य छ । त्यसैले होला, जन्मभूमि नेपाल भन्दा कैयन् दुरी टाढा भइकन पनि नेपाली श्रस्ताहरु बेला–बेलामा जमघट भइ आफ्ना रचना र भावनाहरु खुलाउछन् । हो, गत शनिबार यस्तै साहित्य सिर्जनाले गुञ्जियो ग्रानभिलको डिगर्स हल । शब्दाङकुर बुक एण्ड पब्लिकेशन र गोर्खा नेपाली कम्युनिटी (जिएनसी) को संयुक्त आयोजनामा “सिर्जना संगम” कार्यक्रम सम्पन्न भएको हो ।

अष्ट्रेलियाको सिड्नीमा विगत ५ दशकभन्दा बढी समयसम्म सक्रिय रहेर नेपाली समुदायमा सक्रिय योगदान पुर्याउनु भएका डा. नारायण प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका सभापति गोर्खा नेपाली कम्युनिटी (जिएनसी) का अध्यक्ष राजीव प्रधानले प्रमुख अतिथि प्रधान तथा उनका धर्मपत्नी  लीना प्रधानलाई खादा ओडाएर सम्मान गर्दैं कार्यक्रमको शुरुवात गरिएको थियो । । यसक्रममा प्रमुख अतिथि डा. नारायण प्रधानले कवि तथा साहित्यकार दम्पत्तिहरू भोगेन्द्र लिङदेन तथा उनका धर्मपत्नी सरिता लिङ्देन, डा.विजय सुब्बा तथा उनका धर्मपत्नी धर्मपत्नी झुमा सुब्बा, ज्ञानुवाकर पौडेल तथा उनका धर्मपत्नी  त्रिपुरा पौडेललाई खादा ओडाएर सम्मान गर्दैं मायाको चिनो हस्तान्तरण गरेका थिए ।

कविता तथा गजलवाचनको कार्यक्रम शुरु हुनुअघि जीतमान लिम्बु तथा वहाँको समुहद्वारा केलाङ नृत्य (च्याब्रुङ नाच) प्रस्तुति गरिएको थियो । उक्त केलाङ नृत्यको प्रस्तुतिपछि कवि भोगेन्द्र लिङदेनले लिम्बु समुदायमा केलाङ नृत्य उत्पत्तिको मिथकको बारेमा छोटो चर्चा गर्दै केलाङ शीर्षकको कविता वाचन गरेका थिए। यस क्रममा वहाँले लिम्बु मुन्धुममा आधारित ‘आमाको माङ्गेन्ना’, ‘बुबा’, ‘झरेर जाने जूनलाई’ लगायतका शीर्षकका कविता वाचन गरेका थिए ।

‘काठमाडौं’ शीर्षकको कविताबाट कवितावाचनको कार्यक्रमलाई निरन्तरता दिंदै कवि डा. विजय सुब्बाले आफूले सँधै देश र जनताको पक्षमा तथा सामाजिक विकृति तथा विसंगतिहरुका विरुद्धमा लेख्‍ने बताउँदै करीब आधा दर्जन गीत तथा छोटा कविताहरू वाचन गरेका थिए । गजलकार ज्ञानुवाकर पौडेलले नेपाली गजलको बारेमा संक्षिप्त चर्चा गर्दै ‘कस्को प्रभाव छ यो देशमा’, ‘वरपीपलको कहानी नसोध’, ‘तरवारको धारमा हिँड्नुपर्छ यहाँ हरदम’ लगायतका शीर्षकका करीब आधा दर्जन गीत तथा गजलहरू वाचन गरेका थिए ।

कार्यक्रममा कलाकार सुष्मा गुरुङले ‘उकाली ओरालीहरूमा’ र ‘कहिले प्रीतिको फूल’ बोलको गीतमा गायन प्रस्तुति गरिन् । शब्दाङकुर बुक एण्ड पब्लिकेशनका तर्फबाट प्रकाश चन्द निङलेकुले आगन्तुकहरूलाई स्वागत गर्दै अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायमा साहित्य, कला, संगीतको प्रबर्दनका निम्ति “सिर्जना संगम” कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए । सन्तोष शर्माले संचालन गरेको उक्त कार्यक्रमको अन्त्यमा प्रायोजक, कलाकार, स्वयंसेवक तथा सहयोगीहरूलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमका सभापति राजीव प्रधानले सबै वर्गबाट कार्यक्रम आयोजनाका निम्ति प्राप्त सहयोगका निम्ति हार्दिक आभार व्यक्त गरेका थिए ।

(Visited 51 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services