अब प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

गण्डकी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बैंकिङ कसूर र वित्तीय अपराधका घटनाको अनुसन्धानका लागि छुट्टै ब्यूरो स्थापना गर्ने बताएका छन् ।पोखरामा आइतबार आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिएका हुन् ।

‘पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन् । गण्डकी प्रदेशमा मात्र गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई सय प्रतिशतले त्यस्ता घटनामा वृद्धि आएको पाइएको छ’, महानिरीक्षक कुँवरले भने, ‘आर्थिक अपराधका घटनाले व्यक्ति वा कुनै संस्थालाई मात्र नभइ सिङ्गै राष्ट्रको अर्थतन्त्रलाई गम्भीर असर पुर्यासउने भएकाले यस्ता घटनाको नियन्त्रणमा प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको छ ।’

उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुर्व्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे ।लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरले बताए । ‘प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ । यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौँ’, उनले भने ।

उनले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राखे । महानिरीक्षक कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिए ।

(Visited 32 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services