
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् ।ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् ।
शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् । शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय जनाको माग गरिएको छ ।गत असारमा सिपबिल्डिङका लागि आवेदन दिएर बसेका परीक्षार्थीले समेत उत्पादनमूलक क्षेत्रमा पनि भाषा परीक्षा दिन पाउने गरी १६ पुसमा शाखाले आवदेन खुला गरेको थियो ।त्यसअघि साउनमा भएको सिपबिल्डिङका लागि ईपीएस परीक्षमा ३५ हजार सहभागी भएकामध्ये ४ हजारमात्र उत्तीर्ण भएका थिए ।
त्यसपछि उत्पादनमूलक क्षेत्रका लागि आवेदन खुला गरेको थियो । तर सन् २०२३ भित्र परीक्षामा सहभागी भएकाहरुले अन्य क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था भएकाले अनुत्तीर्ण भएका ३० हजारलाई आवेदन भर्न दिइएको थिएन ।तर, परीक्षार्थीले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुनु पाउँनुपर्ने भन्दै १८ जनाले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । ५ पुसमा अदालतको आदेशपछि १८ जनालाई मात्र ईपीएस परीक्षामा सहभागी हुनका लागि ईपीएस शाखा ग्वार्कोले सूचना निकालेका थियो ।
त्यसपछि पुनः उच्च अदालत पाटमा परेका अर्को रिटमा सुनुवाइ गर्दै अदालतले १३ पुसमा सबैलाई परीक्षार्थीलाई रोक नलगाउन आदेश दिएको थियो ।
अदलतको आदेशपछि उनीहरुलाई पनि सहभागी हुन पाउने गरी १६ पुसदेखि आवेदन खुला गरिएको थियो ।त्यसअघि सिपबिल्डिङ क्षेत्रमा सहभागी भएकाले अरु क्षेत्रको परीक्षामा पनि सहभागी हुन पाउनु पर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा १२ पुसमा ललितपुरको बालकुमारीमा सुजन रावत र वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services