महावीर पुनको सार्वजनिक जीवनका प्रमुख पाँच टर्निङ प्वाइन्ट
✍ विराट अनुपम
प्रकाशित मितिः5 months ago

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख नेतृत्व तथा सन् २००७ का रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुन नेपालका सेलिब्रेटी सामाजिक व्याक्तित्व हुन् । ७० वर्ष पुग्न लागेका उनले जीवनको युवावयदेखिको सबै समय समाज र देशलाई दिएका छन् ।

उनै पुनले तीन महिना अगाडि आफ्नो आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ बजारमा ल्याएका छन् । ७० वर्ष कटे पनि ‘बुढेसकालको खर्च जुटाउने स्रोत’को रुपमा आत्मकथा लेख्न सोचेका पुनले राष्ट्रिय आविष्कार केन्द्रले पाएको अनुदानको प्रक्रिया पूरा गर्न चाहिने ४ करोड जोहो गर्नुपर्ने बाध्यताले केही चाँडै आत्मकथा ल्याएको बताएका छन् । ७५० रुपैयाँ मूल्यको ३०६ पृष्ठको किताबमा पुनले आफ्नो व्यक्तिगत, सामुदायिकदेखि सार्वजनिक तथा राष्ट्रियसम्म काममा जोडिएका सबैजसो विषयमा खुलस्त लेखेका छन् । किताब नै पुनलाई अहिलेको सर्वाजनिक जीवनमा ल्याउने स्तरको व्यक्तित्व बनाउन आइरहेका थिए विभिन्न निर्णायक टर्निङ प्वाइन्टहरु । पुनको अहिलेको व्यक्तित्व बन्न बाटोमा जोडिएका प्रमुख पाँच टर्निङ प्वाइन्टको चर्चा यहाँ गरिएको छः

१, चितवनका सीडीओको हप्कीदप्की र थुनाले जुराएको नयाँ जीवनको यात्रा
हरेक नकारात्मक कुराको परिणाम नकारात्मक मात्रै हुँदैन । सकारात्मक पनि हुन्छ । त्यस्तै भयो चितवनका एक सीडीओले पुनलाई गरेको दुर्व्यवहार, हप्कीदप्की र थुनाइ । १४ वर्षको उमेरमा म्याग्दीको नाङ्गी गाउँबाट बसाइ सरेर चितवन आएका पुनले एसएलसीपछि विज्ञान पढे । आईएस्सी पढेर उनी शिक्षक भए । उनले चितवनका दिव्यनगर हाइस्कुल, नेपाल हाइस्कुल, वीरेन्द्रनगर हाइस्कुलमा पढाए । उनको पढाइको सक्रियता खैरहनी हाइस्कुलमा भने धेरै भयो ।

त्यही आबद्ध हुँदा उनले विज्ञान प्रयोगशाला बनाउन टीममा जुटे । शिक्षकहरु घनश्याम प्रधान, नरकाजी पुनसँग मिलेर ‘विज्ञान प्रयोगशाला पुस्तिका’ भारतको गोरखपुर पुगेर छपाए । बेसार खेती, बंगुरपालन हुँदै देउसीको चन्दाबाट उठेको ३५ हजार सबै विज्ञान प्रयोगशालामै लगाए । सोही समयमा २०३६ सालको एसएलसी परीक्षामा निरीक्षक बसेका शिक्षकहरुलाई तत्कालीन सीडीओ, जसको नाम रामकृष्ण पन्त हुनसक्ने पुनको अनुमान छ(ले शिक्षकलाई हेपेर बोले, हप्काए । विद्यार्थीको अगाडि सीडीओले शिक्षकको अपमान गरेकोमा पुन बिच्किए । पुनले सीधासीधा सीडीओसँग मुखामुख गरे । त्यो भनाभनको इख लिएका सीडीओले केही महिनापछि उनलाई अचानक पक्राउ गरेर सात दिन थुने । त्यो घटनापछि विरत्तिएर पुनले पढाउन छोडे र पढाइको विकल्प खोज्न काठमाडौं आए ।

२, पूर्वविद्यार्थीले देखाएको अमेरिकी सपनाको ज्योति
काठमाडौं आएपछि खैरहनी हाइस्कुलमै पढाएका उनका विद्यार्थी उदय मैनाली, जो अहिले अमेरिकाको भर्जिनियामा छन्( तिनले अमेरिकामा छात्रवृत्तिमा जाने सल्लाह दिए । उक्त सल्लाहपछि पुनले तारकातार काठमाडौंको न्यूरोडमा रहेको अमेरिकी पुस्तकालयमा गएर पत्रहरु लेखे । अन्तिममा उनले अमेरिकाको नेब्रास्काको कर्नी स्टेट कलेजबाट छात्रवृत्ति पाए । अमेरिका जान पुग्ने खर्च र लुगाफाटोमा उनले विभिन्न सहयोग लिए । जस्तैः शान्ति सेनामा लेबनान बसेर आएका नेपाली सेनाका मेजर तथा भिनाजु ओमबहादुर पुनले दिएको एक डेक बेचेर २० हजार जोहो गरे । धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा जागिर गर्ने साथी गणेश पन्त, जो अहिले अमेरिकाको मेन राज्यमा छन्– उनले १२ हजार दिए ।

उनका विद्यार्थी रवि श्रेष्ठले न्यूरोडको आफ्नो पसलबाट दुई जोर कमिज, दुई जोर पेन्ट र एक जोर छालाको जुत्ता दिए । यी सबै जोहो गरेर उनी २०४५ साल पुस १६ मा थाई एयरको जहाजबाट थाइल्याण्डको बैंकक, जापानको नरिता हुँदै अमेरिकाको सियाटल ओर्लिएर क्रमशः आफ्नो कलेजसम्म पुगे । अमेरिकामा चार वर्ष पढेर फेरि नेपाल आए ।

३, जापानी प्राध्यापकले बढाइदिएको ग्रामीण प्रेम
अमेरिकाको बसाइ र पढाइपछि नेपाल आएका पुन गाउँमा गए । यो २०४९ साल मंसिरताकाको कुरा हो । आफूले बालक हुँदै छोडेको गाउँमा पुग्दा उनले जापानबाट आएर काम गरिरहेका प्राध्यापक जिरो कावाकिता भेटे । उनी म्याग्दीमा बसेर काम गरेका मानवशास्त्री तथा भूगोलशास्त्री थिए । सन् १९५३ को मनास्लु भ्रमणमा आएको जापानी दलका एक अनुहार थिए उनी । म्याग्दीका शिख उपत्यकाको गहिरो अध्ययनका अतिरिक्त उनले सन् १९७४ मा ‘द हिल्स मगर्स एण्ड देयर नेबर्स’ नामक पुस्तक पनि जापानको टोकाइ विश्वविद्यालयबाट प्रकाशन गरे ।

उनै प्राध्यापकबाट पुनले गाउँको विकासको प्रेम पाए । उनी गाउँमै अडिए । त्यो दुई(अढाई दशक रह्यो । अझ रोचक कुरा सन् १९८४ का म्यागासेसे पुरस्कार विजेता प्राध्यापकको प्रेरणाले गाउँमा बसेका पुनले गाउँमै गरेको कामले सन् २००७ मा म्यागासेसे पुरस्कार पनि पाए । उनले पुरस्कार पाएको दुई वर्षपछि सन् २००९ मा जापानी प्राध्यापकको पनि मृत्यु भयो ।

४, बीबीसीको समाचारले बढाएको गाउँको इन्टरनेट सपना
गाउँमा आएर शिक्षा, कृषि, पर्यटन, उद्यमशीलताका काममा सक्रिय पुनले इन्टरनेट चलाउन सन् १९९५ पछि मर्केन्टाइल कम्युनिकेसनले चलाएको ठमेलमा रहेको कम्प्युटर सेन्टर पुग्नुपर्ने दुःख थियो । म्याग्दीबाट दुई तीन महिनामा काठमाडौं आउँदा मर्केन्टाइल कम्पनीकै इमेलबाट इमेल लेख्थे उनी । इमेल आधा पेज प्रिन्ट गर्दा ३० रुपैयाँ र पूरा पेजको ५० रुपैयाँ दिन्थे । पछि पोखरामा डायलअप इन्टरनेट सुरु भयो । त्यो समयमा उनी महिनामा एक पटक पोखरा पुगेर मेल गर्थे ।

सन् १९९८ मा अस्ट्रेलियाको बिलानुक कलेजले दिएको तीन वटा पुरानो कम्प्युटर गाउँमा थियो । उनी विद्यार्थीलाई कम्प्युटर सिकाउँथे । यसैबीचमा सन् २००१ मा बीबीसीको गो डिजिटल कार्यक्रममा युरोपको बुल्गेरियाको दुर्गम क्षेत्रमा इन्टरनेट पुगेको समाचार आयो । त्यो समाचारमा पुनले कमेन्ट गरे । कमेन्टमा उनले नेपालमा पनि त्यस्तै गर्न चाहेको र विज्ञ भेट्न चाहेको लेखेका थिए । आल्फ हर्मिडा नामका बीबीसी पत्रकारबाट रिप्लाइ आयो । बीबीसीसँग जोडिएपछि उनले गाउँमा चलाएको कम्प्युटरको समाचार सन् २००१ अक्टोबर २२ मा प्रकाशन भयो ।

कम्प्युटर अँगाल्दै नेपालको बादलभित्रको गाउँ भन्ने शीर्षकको समाचार आएपछि त उनको लागि सहयोग गर्नेहरुको लर्को नै लाग्यो । त्यसमा पहिलो अनुहार थिए, भारतबाट सन् १९६० को दशकमा अमेरिका पुगेका भारतीय इलेक्ट्रिकल इन्जिनियर कृष्ण रल्लापल्ली । उनले वाइफाइ राउटर र अरु कुरामा सहयोग गरे । महावीरले पोखरास्थित दीपको घरमा जोडिएको टेलिफोन लाइनको इन्टरनेट राउटरबाट ४० किलोमिटर पर म्याग्दीको नाङ्गी गाउँमा पनि इन्टरनेट जोडे । फलस्वरुप उनको गाउँ नाङ्गी इन्टरनेट पुग्ने देशकै पहिलो गाउँ बन्यो । गाउँमा इन्टरनेट पुगेपछि त्यहाँका अन्नबाली, पशु(चौपाया बिक्रीदेखि टेलिमेडिसिनसम्ममा प्रयोग गरियो । त्यसैले उनलाई सन् २००७ को म्यागासेसे पुरस्कार दिलायो ।

त्यो नै उनको पहिलो पुरस्कार तथा सम्मान भने होइन । उनलाई सबैभन्दा पहिलो सम्मान सन् २००२ मा अमेरिकाको वासिङ्टन डिसीमा रहेको अशोका फाउण्डेसनले दियो । दोस्रो बेलायतको आइडियाज् बैंक नामक संस्थाले दियो । त्यसपछि मात्रै म्यागासेसे पुरस्कार आएको हो । म्यागासेसेपछि त लहरै आयो । तर, सन् २०१९ को सोल्टी होटलको एक समारोहबाट भने पुनले पुरस्कार अब आफूलाई होइन, राष्ट्रिय आविष्कार केन्द्रलाई दिन आग्रह गरेका छन् ।

५, बेइजिङ यात्राले देखाएको देशको नवप्रवर्तन सपना
सन् २०१२ को मध्यतिर अमेरिको वासिङ्टन डीसीमा रहेको विश्व बैंकमा काम गर्ने नेपाली पुकार मल्लले पुनलाई क्षेत्रीय समावेशी नवप्रवर्तन मञ्च नामक एक सम्मेलनमा जान सल्लाह दिए । उनी विश्व बैंकले व्यवस्था गरेको बिजनेस क्लास टिकटमा बेइजिङ गए । नेपाली गाउँमा विस्तार गरेको वायरलेस इन्टरनेट प्रविधिको अनुभव सुनाए । त्यही मञ्चले राष्ट्रिय आविष्कार केन्द्र खोल्ने उनको सपनाको प्रारम्भ ग¥यो । त्यसबारेमा पुनले पुस्तकमा भनेका छन्, ‘त्यो सम्मेलनले मेरा आँखा खोलिदिएको थियो । त्यहाँ प्रस्तुत गरिएका पेपरहरु सुनेपछि मात्र गरिब देशमा रोजगारीको अवसर सिर्जना गर्न र अर्थतन्त्र सुधार्न अनुसन्धान तथा विकास र नवप्रवर्तन भन्ने काम नगरी नहुने रहेछ भन्ने कुरा मलाई छर्लङ्ग भएको थियो । त्यसपछि नै हो, म मरिमेटेर नेपालमा अनुसन्धान केन्द्र खोल्नतिर लागेको ।’

अंग्रेजीमा नेशनल इनोभेसन सेन्टरको नेपाली अनुवाद राष्ट्रिय नवप्रवर्तन केन्द्र हुने भए पनि आममान्छेले नवप्रवर्तन सहजै बुझ्न नसक्ने भएकाले आविष्कार केन्द्र राख्ने निर्णय भएको पुनले लेखेका छन् ।

अनुसन्धान केन्द्र खोल्न सुरुमा नेपालका आधा दर्जन प्रधानमन्त्रीहरु क्रमशः बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी ओली, प्रचण्ड र देउवा आदिलाई गुहारे । तर, सोचे जस्तो छिटो सहयोग नआएपछि उनी नागरिककहाँ सहयोग माग्न पुगे । आफ्नो पहिलो सहयोग नागरिकमा मागेको घटना २०७३ असार २९ मा काठमाडौंको किस्ट कलेज एण्ड हाइअर सेकेन्डरी स्कुलमा थियो । पहिलो सहयोग आएको थियो कैलालीका युवा टंकप्रसाद रेग्मीको । उनले बीस हजारको चेक दिएका थिए । दोस्रो सहयोग आएको थियो काभ्रेका युवा गोविन्द गौतमको । उनले दश हजार सहयोग गरेका थिए । कोरोना अगाडि चार करोड हाराहारी सहयोग भएकोमा कोरोनामा आविष्कार केन्द्रले गरेको सहयोगका कारण सहयोग बढेर दुई वर्षकै अवधिमा नौ करोड हाराहारी पुगेको पुनले बताएका छन् ।

सहयोगको पारदर्शिताको बारेमा पुन खुला छन् । उनी लेख्छन्, ‘हरेक वर्ष कति दान आयो र कति खर्च भयो भन्ने कुराको लेखापरीक्षण रिपोर्ट कर कार्यालयमा बुझाएर संस्थाको नवीकरण र अद्यावधिक पनि गरिएको छ र त्यसको विवरण आविष्कार केन्द्रको वेबसाइटमा राखिएको छ ।’

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services