मेलम्चीको पानी काठमाडौमा वितरणको तयारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

काठमाडौं । मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको जानकारी दिए । मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक बसेको थियो ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको छ । मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन ।

खानेपानीको अभाव झेल्दै आएका काठमाडौंवासीले उपत्यका संघर्ष समिति गठन गरी रित्ता गाग्रा र बाल्टीसहित २ पुसमा प्रदर्शनमा उत्रिएका थिए ।पानी माग्दै उपभोक्ताले प्रदर्शन गरेपछि मंगलबार खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बैठक बसेको थियो । सो बैठकमा निर्माण व्यवसायी सिनोहाइड्रो मार्फत् नै तत्काल कार्य सुचारु गर्ने र मेलम्ची नदीको पानी पथान्तरण गर्ने सहमति भएको छ ।

सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालित भएको प्रवक्ता पन्तको भनाइ छ । ‘आकस्मिक परिस्थिति परेको बाहेक बढीमा २८ दिनको कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गरिने छ,’ प्रवक्ता पन्तले भने ।

पथान्तरण पश्चात मेलम्चीको पानी दैनिक १७ करोड लिटरको दरले उपलब्ध गराइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सो पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल०बाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकाका घर-घरमा पुनः वितरण हुने छ ।

(Visited 8 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services