नेपाली क्रिकेटका चारै मिसन पुरा
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः9 months ago

सिड्नी । मोन्टी देशाई, नेपाली क्रिकेटका लागि पर्दा पछाडिका नायकका रुपमा उभिएका छन् । पछिल्लो एकबर्षमा नेपालले जति पनि सफलता हासिल गर्दै अन्तराष्ट्रिय क्रिकेट जगतमा, नयाँ तरँग ल्याउन सफल भएका छन्, त्यसमा खेलाडीहरुको मेहनेत र परिश्रमले काम त गरेको छ नै, त्यसका अतिरिक्त कोच मोन्टीको रणनीति, प्रशिक्षण शैली, सरल एवम् मिजासिलो स्वभाबले खेलाडीहरु हरेक दिन उत्साहित हुदै गएका छन् ।

कोच मोन्टीको आगमन हुने बेला, नेपालले लिग २ मा संघर्ष गरिरहेको थियो, यतिसम्मकी बल्लबल्ल प्राप्त एकदिवसीय मान्यता पनि धरापमा पर्ने डर थियो । तर, मोन्टीको नेतृत्वमा नेपालले एकदिवसीय मान्यता जोगाउनुका साथै, एकदिवसीय विश्वकपको ग्लोबल क्वालीफायर, एसियाकप देखि टि ट्वान्टी विश्वकपमा दश बर्षपछि स्थान बनाउन सफल भएको छ ।

भारतीय मुलका मोन्टी देशाई, नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काठमाडौँमा आइपुग्दा, नेपाली क्रिकेटले जित्न भुलीसकेको थियो । आइसीसी लिग २ मा निरन्तर हारपछि, टोलीको मनोबल निकै खराब थियो, जसले एकदिवसीय मान्यता पनि धरापमा पर्ने त्रास कायम थियो । एकदिवसीय मान्यता गुमेको खण्डमा, आइसीसीबाट प्राप्त हुने, आर्थिक सहयोग भारी मात्रामा कम हुने र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर पनि थोरै हुने भएकोले, नेपाललाई पहिलो चरणमा एकदिवसीय मान्यता जोगाउन, एकदमै आवश्यकता थियो, त्यसपछि, एकदिवसीय विश्वकपको ग्लोबल क्वालीफायर, एसिया कप र टि ट्वान्टी विश्वकप जस्ता ठुला प्रतियोगिताको क्षेत्रीय छनौट खेल्नुपर्ने थियो ।

त्यतिबेला, नेपालले एकदिवसीय मान्यता जोगाउन, लिग २ मा बाँकी रहेका १२ खेल मध्ये कम्तिमा ८ र विश्वकपको ग्लोबल क्वालीफायरमा सिधै स्थान बनाउन १२ मध्ये ११ खेल जित्नुपर्ने थियो । कोच मोन्टीले यहिबाटै आफ्नो कौशलता देखाउन थाले, नेपालले लिग २ का १२ मध्ये ११ खेल जित्दै, चमत्कारिक रुपमा एकदिवसीय विश्वकपको ग्लोबल क्वालीफायरमा सिधै स्थान बनायो । जिम्बाबेमा सम्पन्न उक्त क्वालीफायरमा नेपालले टेस्ट नेशनहरु, जिम्बाबे, आयरल्याण्ड, वेस्टइण्डिज जस्ता टोलीहरुसँग शानदार खेल देखाउन सफल पनि भएको थियो । मोन्टीले आफ्नो दुइ महिनाको छोटो अवधीमै नेपाललाई महत्वपूर्ण सफलता दिलाईसकेका थिए, त्यसपछि नेपालको ध्यान एसीसी प्रिमियर कपमा केन्द्रित भयो, उक्त प्रतियोगिता जित्न सके, नेपालले एसिया कप खेल्न पाउने थियो, जहाँ भारत र पाकिस्तान जस्ता क्रिकेटका पावरहाउससँग खेल्न पाउने थियो ।

घरेलु मैदानमै आयोजित एसीसी प्रिमियर कपमा नेपालले चिरपरिचित प्रतिद्धन्द्धीहरु ओमान र युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाउन सफल भयो, जहाँ नेपालले भारत र पाकिस्तानसँग सम्मानजनक प्रर्दशन गर्न गरेको थियो । एसियाकपमा गरेको सम्मानजनक प्रर्दशनकै कारण नेपाललाई विश्व क्रिकेटको ध्यान आफुतिर तान्न सहज भएको थियो । खाशगरि, एसियाकप पछि भारत र पाकिस्तानमा नेपाली क्रिकेटप्रति हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ भने, अहिले भारतका सञ्चारमाध्मय र पूर्वक्रिकेटरहरु नेपाली क्रिकेटको प्रशंसा गरेर थाक्दैन् । यी तिन महत्वपूर्ण सफलता हासिल गरेपछि नेपाललाई अर्को मौका थियो, टि ट्वान्टी विश्वकपमा स्थान बनाउने । दशबर्षअघि विश्वकप खेलेपनि, नेपालले विभिन्न कारणले यो बिचमा विश्वकप गुमाउनु परेको थियो ।

घरेलु मैदानमा आयोजना हुने, विश्वकप छनौट लिएर प्रशिक्षक, खेलाडी र समर्थकहरु उत्साहित थिए । मुलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले युएईलाई हराउदै विश्वकपमा स्थान बनाउन सफल भयो, जुन नेपाली क्रिकेटको महत्वपूर्ण सफलतामध्ये एक रहेको छ ।यसरी नेपाललाई छोटो अवधीमा महत्वपूर्ण सफलता दिलाउन कोच मोन्टीले मैदानभित्र र बाहिर, धेरै नै काम गरेका छन् । उनी, टोलीमा जोडिए देखि नै हरेक खेलाडीलाई खुल्ला रुपमा आफ्नो नेचुरल गेम खेल्न दिएका छन् । ह्यापी ड्रेसिङ रुमको अवधारणाले सबै खेलाडीहरुलाई एकअर्का प्रति सम्मान जगाउने र उनीहरुको क्षमतामा विश्वास राख्ने वातावरण सिर्जना भएको छ ।

 

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services