उपाधि जित्ने लक्ष्यसहित नेपालले ओमानसँग भिड्दै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

सिड्नी । उपाधि जित्ने लक्ष्यसहित नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा आज ओमानसँग खेल्दैछ । नेपालले सेमिफाइनलमा युएईलाई ८ र ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । दुबै टोलीले२०२४ को विश्वकपमा स्थान पक्का गरेका छन् । घरेलु टोली नेपाल ओमानसँग समूह चरणको पाँच रनको हारको बदला लिँदै उपाधि जित्ने योजनामा हुनेछ । युएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोलीको मनोबल उच्च छ । घरेलु मैदान र दर्शकले नेपाल झनै बलियो बन्नेछ ।

समूह चरणमा जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १ सय ४० रनमा अल आउट भएको थियो । अन्तिम ६ बलमा नेपाललाई जितको लागि २६ रन चाहिँदा विवेक यादवले बिलाल खानलाई लगातार तीन छक्का हानेका थिए । तर विवेक चौथो बलमा आउट भएपछि जित टाढिएको थियो । अन्तिम बलमा ६ रन चाहिँदा करण क्याच आउट हुन पुगेका थिए ।

नेपालको हारको मुख्य कारण ११ देखी १६ ओभर थियो । नेपाल ११ ओभरमा ७४(४ को अवस्थाबाट ८५(८ को अवस्थामा पुगेको थियो । नेपालले मध्यक्रममा ३० बलमा ११ रन जोड्दा ४ विकेट गुमाएको थियो । सहज जितको अवस्थाबाट नेपालले हारेको थियो । घरेलु टोली त्यो हारको बदला लिन चाहन्छ ।

नेपालका कुशल भुर्तेल र कुशल मल्ल प्रमुख टि२० खेलाडी हुन् । यी दुई खेलाडीको उच्च प्रदर्शन बिना जित कठिन पर्न सक्छ । ओमानविरुद्ध फाइनल खेल दीपेन्द्रसिंह ऐरी खेल्ने छैनन् ।विश्वकपमा पुग्न निर्णायक खेल हुँदा दीपेन्द्रले युएईविरुद्ध खेलेका थिए । तर फाइनल खेल हुँदा दीपेन्द्र खेल्ने सम्भावना देखिदैन । खुट्टाको एंकलमा चोट लागेका दीपेन्द्र नखेल्दा सन्दीप जोरा वा विनोद भण्डारी मध्य एक खेल्ने छन् । सन्दीप जोराको सम्भावना बढी छ ।

नेपालको टोलीमा अन्य परिवर्तन छैन । नेपालले करण केसीको स्थानमा ललित राजवंशीलाई मौका दिने सोच्न सक्छ । ललित पूर्ण रुपमा पिट नहुँदा करणका साथ नै जाने देखिन्छ ।करण र सोमपालबाट राम्रो सुरुवात चाहन्छ । डेथ ओभरमा अभिनाश बोहरा हुनेछन् । डेथ ओभरमा लगातार रन खर्चिदै आएको थियो । युएईविरुद्ध सन्दीप र कुशलले १७ औं र २० औं ओभर गरेका थिए । ओमानविरुद्ध नेपाललाई डेथ ओभरमा स्पिनर लगाउने निर्णय घातक पनि बन्नसक्छ ।

उता अकिब इल्यास र जिशान मकसुद ओमानका प्रमुख हतियार हुन् । यी दुई अलराउन्डरको प्रदर्शन ओमानलाई महत्वपूर्ण हुनेछ । अकिब समूह चरणमा ब्याटिङमा २ रनमा सोमपालको बलमा बोल्ड आउट भएपनि बलिङमा दुई विकेट लिएका थिए ।बहराइनलाई हराउन उनले चार विकेट लिएका थिए । तेस्रो नम्बरमा खेल्दै आएका अकिब नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । अकिब राम्रो लयमा पनि छन् ।

जिशान आफ्नो अनुभवको फाइदा उठाउन सक्छन् । नेपालविरुद्ध उनले २६ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३२ रन बनाएका थिए । भारतीय मुलका युवा ब्याटर प्रतीक अथवले पनि राम्रो गर्दै आएका छन् ।

ओमानको ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलर कलिमुउल्लाह र बिलाल खा बाहेक अन्य सबै ब्याटिङका लागि चिनिन्छन् । तीव्र गतिका बलर बिलाल खानको प्रदर्शन महत्वपूर्ण हुनेछ । ओमानमा सबै भारतीय र पाकिस्तानी मुलका खेलाडी छन् । त्यसैले उनीहरुको प्रदर्शन अनुमान लगाउन मुश्किल पर्ने गर्दछ ।

 

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services