विश्वकप खेल्ने २० मध्ये १८ टोलीको टुगो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः9 months ago

सिड्नी । सन् २०२४ मा आयोजना हुने टि ट्वान्टी विश्वकप खेल्ने नेपालसहित २० मध्ये १८ टोलीको टुगो लागेको छ । नेपालले शुक्रबार मुलपानी क्रिकेट मैदानमा एसिया क्षेत्रीय छनौटको सेमीफाइनलमा युएइलाई पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले यसअघि बंगलादेशमा सन् २०१४ भएको टी–२० विश्वकप खेल्दै इतिहास रचेको थियो । उक्त विश्वकपमा नेपाली टीमको कप्तानी पारस खड्काले गरेका थिए । अहिले त्यो विश्वकप खेल्ने दुई खेलाडी विनोद भण्डारी र सोमपाल कामीमात्रै राष्ट्रिय टीममा छन् ।

त्यो विश्वकपदेखि यसपटकको विश्वकपसम्म आउँदा नेपाली टीममा थुप्रै परिवर्तन भइसकेको छ । त्यसबेला नेपालको मुख्य अस्त्र बलिङ थियो भने ब्याटिङ हाम्रो कमजोरी थियो । अहिले ब्याटिङ हाम्रो मुख्य अस्त्र बनेको छ भने बलिङ सहायक । नेपालको ब्याटिङले बलिया टीमहरुलाई पनि तर्साउने क्षमता राख्छ ।

विश्वकपको ढाँचा पनि २०१४ को भन्दा यो पालि धेरै फरक हुनेछ । सन् २०१४ मा फुल मेम्बर टीम र एसोसिएट टीमबीच स्पष्ट विभाजन रेखा कोरिएको थियो । विश्वकपमा स्थान बनाए पनि ८ वटा टीमले सीधै ठूला टीमहरुसँग प्रतिस्पर्धा गर्न पाउँदैनथे ।पहिलो राउन्डमा ८ वटा ‘कमजोर’ टीमबीच प्रतिस्पर्धा गराइएको थियो । त्यसमा उत्कृष्ट दुई टीमले सुपर टेन मा प्रवेश पाउँथे ।

त्यसबेला पहिलो राउन्डमा नेपालसहित बंगलादेश, जिम्बावे, अफगानिस्तान, नेदरल्यान्ड्स, आयरल्यान्ड्स, यूएई र हङकङले प्रतिस्पर्धा गरेका थिए । नेपालको समूहमा बंगलादेश, अफगानिस्तान र हङकङ थिए ।तर, आगामी विश्वकपको ढाँचा भने फरक छ । सन् २०२४ को जून ४ देखि ३० सम्म चल्ने विश्वकपमा २० वटा टीम सहभागी हुनेछन् । सबै टीमलाई समान हैसियतमा चार वटा समूहमा बाँडेर खेलाइनेछ । एउटा समूहमा पाँच टीम हुनेछन् ।

प्रत्येक समूहबाट पहिलो र दोस्रो हुने टीमले सुपर ८ मा स्थान बनाउनेछन् । यी ८ टीमलाई दुई वटा समूहमा बाँडेर खेलाइनेछ । दुवै समूहबाट दुई–दुई टीमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।सन् २०२२ को विश्वकपमा टप ८ मा रहेका टीमहरुले स्वतः अर्को विश्वकप खेल्न पाउनेछन् । यस्तै आयोजक राष्ट्रहरुले पनि छनोट खेल्नु नपर्ने प्रावधान छ । जसअनुसार अमेरिका र वेस्ट इन्डिज पनि स्वतः सहभागी हुनेछन् । यसैगरी सन् २०२२ नोभेम्बर १४ सम्म, आईसीसीको वरियतामा माथिल्लो श्रेणीमा रहेका थप २ टीमले पनि क्वालिफायर खेल्नुपर्दैन । यसप्रकार १२ वटा टीम स्वतः टी–२० विश्वकपमा छनोट भइसकेका छन् ।

यसरी स्वतः छनोट भएका १२ राष्टहरुमा, अमेरिका र वेस्ट इन्डिज (आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा सहभागिता जनाउँदै छन् र त्यस्तै, अन्य राष्ट्रहरुमा अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्यूजिल्यान्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् ।

बाँकी आठ वटा स्थानका लागि आईसीसीले क्षेत्रीय छनोट प्रतियोगिता गराइरहेको छ । जसअनुसार अफ्रिका, एसिया र यूरोप छनोटबाट टप २ टीम टी–२० विश्वकपमा पुग्छन् । यूरोप क्वालिफायरबाट आयरल्यान्ड र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन् । इस्ट एसिया प्रशान्त क्वालिफायरबाट पपुवा न्यूगिनी विश्वकपमा पुगेको छ ।यस्तै अमेरिका क्वालिफायरबाट क्यानाडा छनोट भएको छ भने एसिया क्वालिफायरबाट नेपाल र ओमान छनोट भएका छन् । अब अफ्रिका क्वालिफायर नामिबियामा २२ देखि ३० नोभेम्बरसम्म हुँदैछ । त्यो सकिएपछि मात्रै विश्वकपको ड्र हुनेछ ।

 

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services