काठमाडौ । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६।४ म्याग्निच्युडको भुकम्पमा परी १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भईसकेको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुबाट शनिबार राती २ बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।राती भएकाले मृत्यु र क्षतिको पूर्ण विवरण आईसकेको छैन । यद्यपी प्रहरी र स्थानीय तहका अधिकारीहरुले मृत्युको संख्या अझै बढन सक्ने बताएका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी गोपालचन्द्र भट्टराईले जाजरकोटमा मात्रै ६ जनाको मृत्यु भएको पुष्टी गरे । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सदरमुकामस्थित भेरी नगरपालिकाको पिपलडाँडामा घर भत्किदा एक जनाको मृत्यु भएको पुष्टि गरे । उनले मृत्युको संख्या अझै बढन सक्ने भन्दै धेरै ठाउँमा घर भत्किएर घाईते भएका खबरहरु आईरहेको बताए ।
उनले भने ‘धेरै ठाउšमा घर भत्किएर घाइते भएको खबर आइरहेको छ । उद्धारको काम भइरहेकाले संख्या यकिन भन्न सकिने अवस्था छैन् ।’ जाजरकोट जिल्ला अस्पतालका अनुसार राति साढे १ बजेसम्म ४० जना उपचारका लागि ल्याइएको छ भने घाइतेहरु आउने क्रम जारी छ ।
रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार आठविसकोट नगरपालिकामा मात्रै एकै परिवार ६ जना सहित १० जना मृत्यु भएको छ । उनले मृत्यु संख्या अझै बढन सक्ने र रातीको समय भएकाले पूर्ण विवरण नआईसकेको बताए ।
सानीभेरी गाउँपालिका २ पाखापानीमा २ जनाको मृत्यु भएको वडाध्यक्ष मनोज जिसीले बताए । चौरजहारी नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत शेरप्रसाद ढकालका अनुसार चौरजहारी ७ को खत्री गाउँमा भुकम्पले घर भत्किदा ८ जना घाईते भएको बताए । उनले यी सबै घाईतेलाई उपचारका निम्ती नगर अस्पताल पुर्याइएको उनले बताए । यी तीनै स्थानीय तहहरु जाजरकोटसँग सिमा जोडिएका हुन् ।
जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको बताए । उनले आफ्नो गाउँमा मात्रै ८ जनाको मृत्यु भएको सुचना पाएको बताउँदै मृत्युको संख्या अझै बढन सक्ने बताए ।
उनले भने, ‘नचर्किएका घर नै छैनन् । करिब ४० प्रतिशत घरहरु कुनै न कुनै प्रकारको क्षति भएको हुनसक्छ ।’ जिल्ला अस्पतालमा सय भन्दा धेरै बिरामीहरु पुगिसकेको बताउँदै उनले भने, ‘घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भईरहेको छ ।’
कालीकोट संवाददाताका अनुसार शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको ढुंगाको छाना भएको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए ।कर्णाली प्रदेश प्रहरीका डिआईजी भिमप्रसाद ढकाल जाजरकोट सदरमुकाममा पर्खाल भत्किदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताए । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताए ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षती पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउँपालिकाको मुरुडाडामा सातवटा घरमा पूर्ण क्षति भएको स्थानीय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठुलीबार्खुमा २ जनाको ज्यान गएको स्थानिय दलजित सेर्पालीले बताए । उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको बताए ।भुकम्पले सल्यानका ग्रामिण भेगमा पनि भौतिक क्षति पुगेको विवरणहरु प्राप्त भएका छन् । रुकुम पश्चिम र जाजरकोटसँग जोडिएको दार्मा गाउँपालिकामा धेरै घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले जिल्लाको उत्तरी क्षेत्रबाट घर भत्किएको खबर आइरहको र मानवीय क्षतिबारे केही जानकारी नआएको बताए । साभार इकान्तिपुर
© 2023. All rights reserved. Designed By: HK Web Services