त्रिकोणात्मक सिरिज नखेल्ने सन्दीपको घोषणा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दिप लामिछानेले आसन्न नेपालमा आयोजना हुने त्रिकोणात्मक टी २० क्रिकेट सिरिज नखेल्ने घोषणा गरेका छन् । घरेलु मैदानमा हुने प्रतियोगिता आउन केहि समय बाँकी रहेका बेला सन्दिपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएको जानकारी गराएका छन । नेपालले एकहप्तापछि, युएई र हङकङसँग सिरिज खेल्दैछ भने अर्को महिना टि ट्वान्टी विश्वकपको एसिया क्वालीफायर खेल्दैछ ।
सन्दिपले फेसबुकमा स्टाटस लेख्दै तत्कालका लागि आफु कुनै प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको बताएका छन ।

उनले लेखेका छन, ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु, र अहिले जुन अवस्थाबाट गुर्जिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपुर्ण समय रहेको छ । मैले आफुलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै समय आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु।’ उनले थप लेखेका छन्, ‘अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि कृतज्ञता ब्यक्त गर्न चाहान्छु।’

सर्वोच्चमा बिचाराधिन रहेको सन्दिपको मुद्दाको अन्तिम सुनुवाई बारम्बार सर्दै आएको छ । मानसिक रुपमा दवावमा रहेका सन्दिप चीनमा भएको एशियन गेम्समा पनि मुद्दाकै कारण अन्तिम समयमा खेल्न पुगेका थिए । तर प्रतियोगितामा उनको प्रदर्शन खासै राम्रो हुन सकेको थिएन ।यसैबीच, हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको सन्दीपको मुद्दा विविध कारण सर्दै आएको छ ।

गत वैशाख २४ गते विविध कारणले सर्दै आएको उक्त मुद्दा भदौ १० गते नै अन्तिम सुनुवाइ गर्ने भनिए पनि त्यतिबेला हेर्न नभ्याउनेमा परेको थियो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको मुद्दा यसअघि नै २५ पटक पेसीमा चढिसकेको छ । सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो । तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।

सो निवेदनमाथि सर्वोच्च अदालतले विदेशमा खेल खेल्न जानका लागि अनुमति दिई नेपाल फर्किए लगत्तै सो को जानकारी अदालतलाई दिनुपर्ने आदेश दिएको थियो । सरकारी वकिल भने सन्दीपलाई थुनामै राख्नुपर्ने रिट लिएर सर्वोच्च पुगेको थियो । सर्वोच्चकै आदेशमा सन्दीपले पीडित भनिएकी युवतीलाई अन्तरिम क्षतिपूर्ति बापत एक लाख रुपैयाँ दिइसकेका छन् ।

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services