
सिड्नी । तीनसाता अघि, नेपाल क्रिकेट संघ क्यानको सचिबमा निर्वाचित भएका, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले, घरेलु क्रिकेटको संरचनागत सुधार देखि खेलाडीहरुलाई आर्थिक रुपमा बलियो बनाउन महत्वपूर्ण काम गर्न सफल भएका छन् । उनले पहिलो निर्णयबाटै, घरेलु क्रिकेटको विकासका लागि यस संस्करणको एकदिवसीय प्रधानमन्त्री कपलाई नयाँ ढाँचामा सञ्चालन गर्ने घोषणा गरेका छन्, जस अनुसार अब पिएम कपको सेमीफाइनल खेलहरु दुईदिवसीय हुनेछ भने, फाइनल थ्री डे को हुनेछ ।
यसअघिका संस्करणहरु एकै दिनमा सम्पन्न हुने गरेका थिए, यसले खेलाडीहरुलाई मानसिक रुपमा खेलमा अभ्यस्त बनाइराख्न सहज हुन्छ, भने आफ्नो क्षमताको भरपुर प्रयोग गर्ने अवसर हुनेछ । त्यसका साथै, उनले विवादित नेपाल टि ट्वान्टी लिगका विषयमा पनि, क्यानले नै गर्ने उद्घोष गर्दै, थप व्यवस्थित बनाउने निर्णय गरेका छन्, यसले नेपाली खेलाडीहरुलाई विदेशी खेलाडीहरुसँग खेल्न पाइने र राम्रो एक्सपोजर हुने, अपेक्षा लिईएको छ । त्यसका साथै पारसले, राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुलाई व्यक्तिगत प्रायोजन खोज्ने र उनीहरुलाई आर्थिक रुपमा बलियो बनाउने काममा महत्वपूर्ण सफलता प्राप्त गरेका छन् ।
उनकै पहलमा, एसियाली खेलकुदबाट फर्के लगत्तै नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्र सिंह ऐरी एफवान सफ्ट समूहको ब्रान्ड एम्बास्डरका रुपमा आवद्ध भएका छन् ।उनीहरुmले एफवान सफ्ट ग्रुपको सहायक कम्पनीहरू फोनपे, ईसेवा र ईसेवा मनि ट्रान्सफरको उत्पादनबारे प्रचारप्रसार गर्नेछन् ।
एफवान सफ्ट ग्रुप का निर्देशक श्री सुवास शर्माले, राष्ट्रिय खेलाडीहरुसँग जोडिन पाउँदा खुशी लागेको बताएका छन् । त्यस्तै, पारसकै समन्वयमा नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी र सोमपाल कामी, आइएमई पे को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । एक वर्षको लागि ब्रान्ड एम्बास्डर बनेका करण र सोमपालले समान पाँच/पाँच लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services