नेपाललाई बलिङ कोच कति आवश्यक ?
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । मोन्टी देशाइले, नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि, नेपालले व्याटिङ आशालाग्दो सुधार गरेको छ । आइसीसी विश्वकप लिग २ का पछिल्ला १२ खेलदेखि, जिम्वावेमा सम्पन्न विश्कप छनौटसम्म र एसिया कप देखि १९ औ एसियाली खेलकुदसम्म आइपुग्दा, नेपालले व्याटिङमा रेकर्ड नै रेकर्डको किर्तिमान बनाएको छ । केहि समयअघि सम्म, व्याटिङकै कारण कमजोर टोलीहरुसँग पनि घुडा टेक्ने, नेपालले मोन्टीको आवागमनपछि, एशोसिएयट टोलीहरु मात्रै होइन् टेस्ट नेशनहरुसँग पनि शानदार व्याटिङ गर्दै आएको छ ।

जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकपको ग्लोबल छनौटमा नेपालले टेस्ट नेशनहरु वेस्टइन्डिज, जिम्बाबे र आयरल्याण्डसँग पराजित भएपनि शानदार व्याटिङ गरेको थियो । एसिया कपमा विश्व क्रिकेटका महाशक्ति मानिएको भारतलाई २ सय ३१ रनको चुनौती पेश गरेको नेपालले हालै चीनमा सम्पन्न एसियाली खेलकुदमा झन् नवप्रवेशी टोली मँगोलियामाथि रेकर्ड बर्षा नै गरेको थियो । क्वाटरफाइनलमा भारतसँग झिनो अन्तरले पराजित भएपनि नेपाली व्याटरहरुले भारतीय व्याटरहरु भन्दा बढी छक्का प्रहार गर्दै हिटिङ क्षमता प्रर्दशन गरेको थियो ।

व्याटिङमा ओपनरदेखि तल्लो क्रमका कुनै न कुनै व्याटरले फरक फरक खेलमा आफुलाई प्रमाणित गरेका छन् । कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, दिपेन्द्रसिँह ऐरी, कप्तान रोहित पौडेल, गुलशन झा, सोमपाल कामी, करण केसी, भीम सार्कीहरुले व्याटिङमा व्यापक सुधार गरेका छन् भने सन्दीप लामिछानेले पनि चाहिएको बेला राम्रो इनिङ खेलेका छन् । व्याटिङमा आशलाग्दो, प्रगति भएपनि, बलिङ भने कमजोर बन्दै गएको छ । फास्ट बलिङमा सोमपाल र करणको जोडी रहेको छ भने अतिरिक्त सीम बलिङमा गुलशन झा, अभिनाश बोहोराहरु रहेका छन् ।

स्पिनमा सन्दीपसँगै ललित नारायण राजवंशी, दिपेन्द्रसिँह ऐरीहरु रहेका छन् । स्पिनमा नेपालले ठिकठाक बलिङ गरिरहेपनि, पहिला जस्तो तेजिलो बन्न सकिरहेको छैन्, जसमा सन्दीपलाई मानसिक रुपमा अदालतमा विराचाधीन मुद्दाले प्रभाव पारिरहेको अनुमान लगाउन सकिन्छ । नेपालको बलिङमा मुख्य टाउको दुखाइको विषय भनेकै डेथ ओभरमा धेरै रन खर्चिनु रहेको छ, त्यसैले यसमा व्यापक सुधार भएन भने भविश्यमा थप समस्या पर्ने निश्चित देखिएको छ ।

 

नेपाल क्रिकेट संघ क्यानले बलिङमा भइरहेको कमजोरीलाई समाधान गर्न, बलिङ प्रशिक्षक ल्याउनुपर्ने आवाज बलियो बन्दै गएको छ, तर, क्यानले यसबर्ष कुनै तयारी गरेको देखिएको छैन् । विगतमा नेपालले छोटो समयका लागि कहिले विनोद दास त कहिले श्रीलंकन पूर्वक्रिकेटर धमिका प्रसादलाई बलिङ कोचका रुपमा नियुक्ती गरेपनि, अब दीर्घकालका लागि सोच्नुपर्ने बेला भएको छ ।

(Visited 120 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services