एनआरएनए निर्वाचनमा त्रिपक्षीय भिडन्त
✍ वसन्त रानाभाट
प्रकाशित मितिः2 years ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वको लागि त्रिपक्षीय भिडन्त हुने संकेत देखिएको छ । आगामी दुईवर्षे कार्यकालको नेतृत्वका लागि संघका कार्यकारी अध्यक्ष डा.बद्री केसी, उपाध्यक्ष महेशकुमार श्रेष्ठ र अर्का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

अध्यक्षकै प्रतिस्पर्धामा वर्तमान कार्यसमिति अध्यक्ष रविना थापा र उप–महासचिव विनय अधिकारी पनि देखिएका छन् । यसरी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी पर्ने सम्भावना भए पनि मुख्य प्रतिस्पर्धा भने त्रिपक्षीय प्यानलमा हुने निश्चित जस्तै देखिएको छ ।

तीन ठूला राजनीतिक दलका प्रवासस्थित संगठनहरूले आ–आफ्ना उम्मेदवारहरूलाई जिताउन लविइङ सुरु गरिसकेका छन् । नेपाली जनसम्पर्क समितिले श्रेष्ठलाई, प्रवासी नेपाली मञ्चले डा.केसीलाई र नेपाली जनप्रगतिशील मञ्च शर्माको पक्षमा उभिएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट महाधिवेशन प्रतिनिधिहरू चयन गर्ने क्रममा पनि यी संगठनहरूले प्रभाव पारेको आरोप छ ।

नेताहरूको आलोचना गर्न माहिर एनआरएनएहरूको कार्यशैली पनि उस्तै रहेको भन्दै संघका उपाध्यक्ष डा। हेमराज शर्माले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । महाधिवेशन प्रतिनिधि चयनका क्रममा आफू निकट, परिवार र नजिकका नातेदार छानेको भन्दै उनले असन्तुष्टि पोखेका हुन् ।

‘नेताहरूले समानुपातिक सांसद लगायत लाभका पदमा आफ्ना नजिकका, श्रीमान्–श्रीमती, साला–साली लगायत नातेदारलाई सिफारिस गरे भनेर चर्को आवाज उठाउँछौं । तर, अक्टोबरमा हुने एनआरएनएको निर्वाचनमा सिफारिस भएका प्रतिनिधिहरू हेर्दा नेताहरूलाई गाली गर्ने नैतिकता हामीले गुमाएका छौं’, उनले भने । पूर्व महासचिव समेत रहेका डा। शर्माको अभिव्यक्तिले प्रतिनिधिहरू चयनमा संघभित्र कतिसम्म राजनीतिक तथा व्यक्तिगत प्रभाव पर्छ भन्ने उदाङ्गो पारेको छ ।

अक्टोबर १७ देखि काठमाडौंमा सुरु हुने एनआरएनएको ११औं महाधिवेशनका लागि आ–आफ्नो प्यानलमा उम्मेदवार तान्न र पदको बार्गेनिङ गर्ने काम सुरु भइसकेको छ । एनआरएनएको शाखा ८० भन्दा बढी मुलुकहरूमा फैलिएको भनिए पनि झन्डै ५७ देशका करिब ४ हजार २०० प्रतिनिधिहरूले मात्रै केन्द्रीय निर्वाचनमा भाग लिंदैछन् । सेप्टेम्बर १५ सम्ममा महाधिवेशन प्रतिनिधिहरूको अन्तिम टुङ्गो लाग्ने एनआरएनए सचिवालयले जनाएको छ ।

एमाले निकट मञ्चको समर्थन डा. केसीलाई

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले डा.बद्री केसीलाई चुनाव लड्ने तयारी गर्न सन्देश दिएको स्रोतको दाबी छ । त्यसो त एमालेको प्रवासी नेपाली मञ्चले पनि डा।केसीको प्यानललाई नै समर्थन गरेको छ । तर पूर्वप्रधानमन्त्री ओलीको सन्देशबारे अनलाइनखबरको जिज्ञासामा डा.केसीले त्यसमा कुनै सत्यता नभएको बताए ।

‘समस्त एनआरएनहरूको एजेण्डालाई लिएर दुई दशकदेखि यो अभियानमा सक्रिय छु । म कुनै राजनीतिक पार्टीसँग नजिक हुँला तर कुनै पनि पार्टीको एजेण्डालाई लिएर अगाडि बढेको छैन । त्यसलाई लिएर एनआरएनमा जानुहुन्न भन्ने मेरो दृढ मान्यता छ’, डा. केसीले भने ।

डा. केसीले आफ्नो समूहको बचाउ गर्दै भने ‘एनआरएनमा लामो समयदेखि योगदान दिनुभएका साथीहरू हुनुहुन्छ । प्रजातान्त्रिक विचारधाराको होस् वा कम्युनिष्ट विचारधारा सबै किसिमका साथीहरूको संगम छ । अझ भनौं सबै खाले पृष्ठभूमिका साथीहरूलाई मिलाएर हामी टिम बनाउँछौं ।’ आफ्नो टिममा प्रजातान्त्रिक समूहमा आस्थावानहरूको वर्चस्व पनि आधा जस्तै रहेको केसी समूहको दाबी छ ।

डा। केसीले अध्यक्षमा नै आकांक्षा राखिरहेका डा। हेमराज शर्मालाई पुन: उपाध्यक्षमा चुनाव लड्न मनाएका छन् । अमेरिका निवासी व्यवसायी गौरीराज जोशीलाई पुन: महासचिवमा दोहोर्याउने केसी प्यानलले निश्चित गरेको छ । १०औं महाधिवेशनताका बनेको आफ्नो प्यानलबाट नै ९० प्रतिशत उम्मेदवार आउने दाबी डा. केसी समूहको छ ।

कांग्रेसले चुन्यो श्रेष्ठलाई

एनआरएनए अधिवेशनमा कांग्रेसबाट को उम्मेदवार बन्ने भन्नेबारे सधैं चर्चाको विषय नै बन्ने गरेको छ । यो पटक पनि अध्यक्षका लागि दुई जना प्रतिस्पर्धी थिए— वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठ ९जापान० र महासचिव डा। केशव पौडेल ९अमेरिका० । अध्यक्षमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र ठूलै रस्साकस्सी नै चल्यो । सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासम्मले कांग्रेस निकट एनआरएन नेताहरूसँग छलफल गरेका थिए ।

अन्तत: अगष्ट १६ मा काठमाडौंमा सम्पन्न बैठकले जापान निवासी व्यवसायी महेशकुमार श्रेष्ठलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ । डा। पौडेललाई उपाध्यक्षमा अघि बढ्न नेताहरूले सुझाव दिएका छन् । बाँकी प्यानल बनाउन वर्तमान अध्यक्ष कुल आचार्य र महासचिव केशव पौडेललाई जिम्मेवारी दिएको स्रोतको दाबी छ ।

कांग्रेसको समर्थनबारे अध्यक्षका प्रत्यासी श्रेष्ठले आफूलाई लोकतान्त्रिक पक्षले समर्थन गर्नु स्वाभाविक भएको बताए । ‘चुनावी मैदानमा उत्रिंदा कसैले आस्थाको आधारमा, कसैले क्षेत्रको आधारमा, कसैले जातको आधारमा समर्थन गर्लान्’ उनले थपे, ‘समर्थन गर्ने आ–आफ्ना आधार हुन्छन् । त्यसलाई अन्यथा लिनुहुँदैन ।’

विदेशबाट नै मताधिकारको पनि प्रयोग हुँदैछ भन्दै उनले दलहरूमा राजनीतिक प्रभाव नेपालबाट भन्दा अब विदेशबाट बढी पर्ने देखिएको बताए । अध्यक्ष पदमा अमेरिकाबाट केशव पौडेलले आफूलाई निशर्त समर्थन गरेको भन्दै आफ्नो टिममा झन् माहोल सृजना भएको उनको दाबी छ ।

माओवादीको समर्थन शर्मालाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्वका एनआरएनए नेता राजेन्द्र कुमार (आरके) शर्मालाई अघि बढ्न सुझाव दिएको स्रोतको दाबी छ । नेकपा माओवादीको समर्थन पाएका शर्माले पछिल्लो ६ महिनामा ३५ देश पुगेर माहोल समेत बनाएको दाबी गरेका छन् ।

मध्यपूर्वले पनि एनआरएनएको नेतृत्व पाउनुपर्छ भनेर बहस चलिरहेका बेला माओवादी निकट एनआरएन नेताहरूले यसलाई अवसरको रूपमा लिएका छन् । ‘सरकारमा प्रधानमन्त्री प्रचण्ड हुनु र मध्यपूर्वले नेतृत्व पाउनुपर्छ भन्ने बहस अहिलेका लागि प्लस पोइन्ट नै देखिन्छ’, माओवादी निकट एक जना एनआरएनए नेताले अनलाइनखबरलाई भने ।

‘सबै एजेन्डाले नै काम गर्ने हो । मेरा एजेन्डाहरू आम श्रमिकका हुन् । भुईंमान्छेका एजेन्डाहरू हुन् । दलहरूसँग हामी सहकार्य गर्छौं । तर दलसँग छलफल गरेर उम्मेदवारीको टुङ्गो लागेको भन्ने कुरा गलत हो’, शर्माले भने ।
(साभार अनलाइन खबर )

(Visited 18 times, 1 visits today)

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services