
काठमाडौं । १० लाखभन्दा बढी नाफा फिर्ता लैजान नपाउने गरी गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रमा लगानी खुला गर्नुपर्ने सुझाव एक अध्ययनले दिएको छ । धितोपत्र बोर्डले गरेको एक अध्ययनले यस्तो सुझाव दिएको हो । गैरआवासीय नेपालीले नेपाली बैंकमा डलर खाता खोलेर त्यहाँ पठाएको रेमिट्यान्सको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव समितिले दिएको छ ।
त्यसरी रेमिट्यान्सका रुपमा ल्याएर धितोपत्रमा लगानी गरेको सम्पूर्ण रकम फिर्ता लैजान दिनुपर्ने तर नेपालमा त्यसरी लगानी गरेर कमाएको नाफा वा पाएको लाभांशबाट भने वर्षमा १० लाख रुपैयाँ भन्दा बढी फिर्ता लैजान नपाउने गरी सेयर बजारमा लगानीको बाटो खोल्नुपर्ने सुझाव समितिको छ ।
धितापत्र बोर्डले सञ्चालक समिति सदस्य सुजनकुमार काफ्लेको संयोजकत्वमा अर्का सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक दीपा दाहाल रहेको अध्ययन समिति गठन गरेको थियो । समितिले गैरआवासीय नेपालीलाई नेपालको धितोपत्रमा लगानी खुला गर्न यी लगायत अन्य कानूनी सुधारको सुझाव पनि प्रस्तुत गरेको हो ।
गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्ने प्रयोजनले खाता खोल्न कस्टोडियन बैंकको व्यवस्था गर्नुपर्ने, त्यस्तो बैंकमा खोलेको खातामा उनीहरुले रेमिट्यान्सका रुपमा रकम पठाउनुपर्ने र बैंकले त्यो रकममध्ये ९० प्रतिशतसम्म नेपाली मुद्रामा कर्जा प्रदान गर्नसक्ने व्यवस्था गर्न समितिले सुझाव दिएको हो ।
गैरआवासीय नेपालीहरुले नेपाली मुद्रामा लिएको सोही कर्जा रकमबाट धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्ने व्यवस्था गर्नुपर्ने अध्ययन समितिको निष्कर्ष छ । तर, आफैंले पठाएको रेमिट्यान्स बैंकमा राखेर कर्जा लिँदा बैंकले ब्याज लिन्छ कि लिंदैन भन्ने विषयमा भने प्रतिवेदनमा उल्लेख छैन ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services