एनआरएनले नेपाली नागरिकता पाउने बाटो खुल्यो
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाली नागरिकता दिने बाटो खुलेको छ । एनआरएनलाई पनि नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले एनआरएनले पनि नागरिकता पाउने बाटो खुलेको हो ।

नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली बनेको थिएन । तर १२ भदौमै बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको स्रोतले जनायो । यद्यपि यसको औपचारिक जानकारी सरकारले सार्वजनिक गरेको छैन । त्यसैले यसका व्यवस्थाबारे विस्तृतमा जानकारी हुन सकेको छैन ।

नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको उनी निकट स्रोतले बतायो । स्रोतले भन्यो, ‘संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क भ्रमणमा गएको बेला त्यहाँ रहेका एनआरएनहरुलाई नयाँ सन्देश दिने चाहना थियो, त्यसैले नागरिकता सम्बन्धी नियमावली पारित गर्न प्रधानमन्त्रीको विशेष जोडबल थियो ।’

केके गर्न पाइन्छ, केके गर्न पाइँदैन ?

यो नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुने छ । यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइने छैन ।

कसलाई जरुरी छ यो नागरिकता ?

खासगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई यो नागरिकता जरुरी थियो । उनीहरुले नेपालमा सीप र लगानी भित्राउन कानुनी अडचन भएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गरेका थिए । आफूलाई राजनीतिक अधिकार नचाहिने, केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकता दिए पुग्ने उनीहरुको माग थियो । नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुने छ ।

अझै छ असन्तोष

गैरआवासीय नेपाली नागरिकता प्राप्त हुँदै गर्दा धेरैजसो गैरआवासीय नेपाली खुसी छन् । तर, नयाँ नागरिकता अंगीकृत भएको र उनीहरुको वंशजको नागरिकताका नाता टुटेको भन्दै केही गैरआवासीय नेपालीले यसलाई वंशजको श्रेणीमा राखिदिन माग गरिरहेका छन् । अहिले सरकारले दिने भनेको नागरिकता आफूहरुले नलिने उनीहरुको भनाइ छ ।

यो नागरिकता लिन नेपाली नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने छ । अधिकांश विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरुले अझै पनि नेपाली नागरिकता नत्यागेको हुँदा पहिले उनीहरुले नेपाली नागरिकता त्याग्नुपर्ने छ र त्यसपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन दिन सक्नेछन् । आवेदनका साथ आफू वा आफ्नो आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

(Visited 27 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services