
काठमाडौं । बागमती प्रदेश क्रिकेटका संघका नवनिर्वाचित अध्यक्ष पारस खड्काले यसअघि क्रिकेटमा उठाउँदै आएका परिवर्तनका प्रश्न अब आफैंमाथि आउने बताएका छन् ।दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पूर्वकप्तान पारसले खेल छाडेपछि पदाधिकारीका रूपमा काम गर्ने सुरुवात भएको बताए ।
पूर्वकप्तान पारसले निकटम प्रतिस्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरेका थिए । अध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३र४ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए ।
आफूले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै उनले दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको बताए ।
आगामी दिन कागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेको उनले सुनाए ।निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अफ्ठयारो अवस्थामा रहेको तर चार वटा जिल्लाको साथले आत्मबल बढेर निर्वाचनमा भाग लिएको उनले स्पष्ट पारे ।१३ सदस्यीय प्रदेश कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।
असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । पारसले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर केन्द्रीय अधिवेशनमा अगाडि बढ्ने बताए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services