आठ वर्षपछि खुल्यो तातोपानी नाका
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः11 months ago

काठमाडौ । आठ वर्ष पाँच महिनापछि सर्वसाधारणका लागि उत्तरी तातोपानी नाका शुक्रबारदेखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘सुरुमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन्’ उनले भने ।

लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा मात्रै निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।’आउजाउ भर्खर सुरु भएको छ । त्यसैले कम मानिसलाई प्रवेश अनुमति दिएका छौं ,खासाको छिट्टै सम्पन्न हुने पुनर्निर्माणपछि नेपाली पर्यटक लिपिङबाट सिधै न्यालम जान पाउने व्यवस्था गरिने छ’ अध्यागमन कार्यालयका प्रमुख रविन्द्र पोखरेलले भने । सीमाबाट ३० किलोमिटर दुरीमा हिमाली बजार न्यालम रहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services