
सिड्नी । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले नेपाली टोलीलाई पाकिस्तानको मुल्तानमा सोमबारै भेट्ने भएका छन् । सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गरेको छ । काठमाडाँैबाट मुल्तान पुग्न करिब १० घण्टा लाग्नेछ । सन्दीपले मंगलबार मुल्तानमा नेपाली टोलीसँगै अन्तिम तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । आइतबार जिल्ला अदालत काठमाडौमा उनी विरुद्धको मुद्दाको सुनुवाई स्थगित भएसँगै उनी एसिया कप खेल्न पाकिस्तान जान सहमत भएका हुन् ।
मुद्दाको समयमै छिनाफानो नहुँदा मानसिक तनाब भएको भन्दै एसिया कप नखेल्ने बताएका सन्दीप, समर्थकको चाहना अनुसार, आफु देशका लागि योगदान दिन तयार रहेको प्रतिक्रिया दिएका छन् । मुद्दाकै कारण नेपाली टोलीसँगै पाकिस्तान जान नपाएको सन्दीपले काठमाडौमा इन्डोर हलमा व्यक्तिगत रुपमा अभ्यास गरेका थिए । नेपाली टोली भने कराचीमा ४ दिन अभ्यास गरेपछि, एसिया कपका उद्घाटन खेलका लागि आइतबार साँझ मुल्तान पुगेको छ ।
मुल्तान पुगेको नेपाली टोलीलाई पाकिस्तान क्रिकेट बोर्डले यसअघि झै उच्च सुरक्षा घेराभित्र भव्य सम्मानका साथ स्वागत गरेको छ । नेपाली टोलीलाई पाकिस्तानले हरेक शहरमा शानदार स्वागत गरिरहेको छ । असुरक्षाको कारण देखाउदै विश्व क्रिकेटका टोलीहरुले १० बर्षसम्म पाकिस्तानको भ्रमण नगरेपछि, आत्तिएको पाकिस्तानले पछिल्लो समय आफ्नो देशको भ्रमणमा आउने क्रिकेट टोलीलाई उच्च सम्मान र सुरक्षा प्रदान गरिरहेको छ ।
एसिया कप अन्र्तगग नेपालले पहिलो खेल बुधबार पाकिस्तानको मुल्तानमा खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा सुरु हुनेछ । उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ ।नेपाल र भारतबीचको खेल भदौ १८ अर्थात (सेप्टेम्बर ४) मा श्रीलंकाको कान्डीमा हुनेछ । नेपाल र भारतबीचको खेल पनि नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरुहुनेछ । दुबै खेल डे नाइटको हुनेछ ।
यसैबीच, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले एसिया कपमा पाकिस्तानसँग खेल्नु अघि विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरलाई सम्झिएका छन् ।पाकिस्तानको प्रसिद्ध क्रिकेट रंगाशाला कराँचीमा अभ्यासपछि मोन्टीले सामाजिक सञ्जाल मार्फत सचिनलाई सम्झिएका छन् । ‘म एक गौरवान्वित भारतीय र विश्व क्रिकेटको महान टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्ने अवसर, नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा निभाउँदै छु । मेरो लागि भारतले र सम्भवत विश्व क्रिकेटले नै पाएको सर्वोत्कृष्ट खेलाडीले १६ वर्षको उमेरमा डेब्यु गरेको मैदान (कराँची) मा उभिन पाउनु गर्वको विषय हो’, मोन्टीले लेखेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services