
काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ ।
आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए ।
सोही गुनासो सम्बोधन गर्न भन्दै मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई अवैध कुखराको आयात रोक्न निर्देशन जारी गरेको मन्त्रालयले जनाएको छ ।
जसअनुसार मन्त्रालयले खुला सीमा नाकाबाट गैरकानुनीरुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रण गर्ने, अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानून बमोजिम कारवाही गर्ने, सीमा नाकामा गस्ती निगरानी बढाउने उल्लेख छ ।
यस्तै, सीमा क्षेत्रमा अवैध तथा मापदण्डविपरीत खोलिएका कुखुरा फार्म, बधशाला ह्याचरी र कोल्ड स्टोरहरु हटाउन पनि मातहतको निकायलाई गृहमन्त्रालयले पत्राचार गरेको छ ।भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय तथा सहयोग गर्न पनि मन्त्रालयले भनेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services