नेपाली टोली पाकिस्तान पुग्दा सन्दीप नेपालमै रोकिए
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली क्रिकेट टोली एसियाकपमा सहभागिता जनाउन मध्यरातमा पाकिस्तान पुग्दा, टोलीका स्टार स्पिनर सन्दीप लामिछाने भने नेपालमै रोकिएका छन् । उनी विरुद्धको मुद्धाको न्यायिक निरुपणमा ढिलाई हुँदा सन्दीपको एसिया कप यात्रा अनिश्चित बनेको छ । नेपाल क्रिकेट संघ क्यानले, सन्दीप बिरामी रहेका कारण टोलीसँगै पाकिस्तान जान नपाएको उल्लेख गरेपनि सन्दीपले भने आफू बिरामी नभएको बताएका छन् ।

‘म पूर्ण रुपमा फिट छु, खै कहाँबाट यस्तो खबर बाहिर आयो भन्ने कुरा मलाई अचम्म लागिरहेको छ’, सन्दीपले सञ्चारमाध्यमहरुलाई भनेका छन् ।क्यानले मँगलबार दिउँसो साढे चार बजे काठमाडौस्थि एभरेष्ट होटल बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । उक्त कार्यक्रममा, पत्रकारसँगको कुराकानीका लागि मुख्य प्रशिक्षक मोन्टी देशाई, कप्तान रोहित पौडेल र एसिया कपका म्यानेजर प्रदीप मजगैयाँ थिए । सन्दीप बारे सोधिएको प्रश्नमा मजगैयाँले उनी बिरामी भएको बताएका थिए ।

‘यो खास सबैको चिन्ताको विषय पनि हो । खासगरी उसको स्वास्थ्यमा समस्या पनि देखिएको हो । वहाँ अहिले हामीसँग जानुहुन्न । हाम्रो खेल ३० अगष्टमा छ । यदि वहाँको स्वास्थ्य अवस्था ठिक भएमा लैजाने प्रयास क्यानले गरि राखेको छ । हामीसँग वहाँ सम्पर्कमा हुनुन्छ । होटल पनि आइरहनु भएको छ । अहिले नै जानुहुँदैन भनेर हामी भन्न सक्दैनौं । जाने सम्भावना छ’, मजगैयाँले पत्रकारसँगको कुराकानीमा भनेका थिए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि सन्दीप बिरामी भएको हुँदा अभ्यासमा नगएको बताएका थिए । तर पत्रकारसँगको कुराकानी पछि सन्दीप टिमलाई भेट्न होटल पुगेका थिए । सन्दीपले आफू बिरामी नभएको बताएका थिए । अनौपचारिक रुपमा सन्दीपले आफू पूर्णरुपमा फिट भएको र आफू विरामी भएको विषयमा होटल आएपछि मात्रै थाहा पाएको बताएका थिए ।

क्यान र टिम दुबैले सन्दीप के बिरामी भएको बताउन भने सकेका थिएनन् । मँगलबार नै राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो २ बजे शीतलनिवासमा बोलाउँदै एक कार्यक्रमकाबीच नेपाली टोलीलाई बिदाई गर्नुको साथै शुभकामना दिएका थिए ।सन्दीप भने राष्ट्रपतिको बिदाई कार्यक्रममा सहभागी भएनन् । नेपाली टोलीले आइतबार र सोमबार बन्द प्रशिक्षण गर्दा उनी अभ्यासमा पनि गएका थिएनन् ।

नाबालिग बलात्कारको आरोपमा सन्दीप पछिल्लो एक वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन्। पछिल्लो बहसमा अदालतले जाहेरीवालाको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो । उनको काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दाले मानसिक रूपमा खेल्न तयार नभएको बुझिएको छ तर, एउटा स्वास्थ्य खेलाडीलाई क्यान जस्तो जिम्मेवार निकायका अधिकारीहरुले नै किन पटक पटक विरामी भएको हल्ला फैलाइरहेका छन् ? समर्थकहरुले प्रश्न गर्ने अवस्था बनेको छ । पाकिस्तान पुगेको नेपाली टोलीले एकसाता त्यहाँ प्रशिक्षणपछि, एसिया कपमा सहभागिता जनाउदैछ । एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपालले ३० अगस्टमा पाकिस्तान र ४ सेप्टेम्बरमा भारतसँग खेल्ने कार्यतालिका रहेको छ ।

 

 

(Visited 18 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services