बालेन–प्रधानमन्त्री भेट, सुकुम्बासी समाधानबारे छलफल
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः12 months ago

काठमाडौं । लामो समयदेखि संघीय सरकारसँग असन्तुष्ट रहँदै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मग्लबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सिंहदरबारमा छलफल गरेका छन् ।

सरकारका केही मन्त्रीहरुसमेत सहभागी उक्त छलफल काठमाडौंको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा मुआब्जाका विषयमा केन्द्रित थियो ।स्रोतका अनुसार हालै मात्र बालेनले प्रधानमन्त्री दाहालसँग भेटेर यी दुई समस्यालाई सहजीकरण गर्न सरकारसँग आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले सरोकारवाला मन्त्रीहरुलाई समेत बोलाएर बैठक राखेका हुन् ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, भूमिसुधार मन्त्री, सामान्य प्रशासनमन्त्री, सहरी विकास मन्त्री तथा ती मन्त्रालयका सचिवहरुको सहभागीता थियो ।काठमार्डौंका विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेका सुकुम्बासीहरुलाई हटाउन महानगरले प्रयास गर्दै आएको छ । तर, महानगरको प्रयासमा गृहलगायतका मन्त्रालय सहयोग र समन्वय नगरेको गुनासो महानगर प्रमुख शाहले गर्दै आएका छन् ।

मंगलबारको बैठकमा उनले यस विषयमा व्रिफिङ गरेका थिए । यसैगरी तीनकुनेमा पार्क निर्माणका लागि अधिग्रहण गरिएको २४ रोपनी जग्गाको मुआब्जा वितरण नभएको विषयमा पनि उनले प्रधानमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

दुवै विषयलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएर सकारात्मक जवाफ दिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताए ।‘छलफल अत्यन्त सौहार्दपूर्ण र सकारात्मक भयो । विधि र प्रक्रिया पुर्याएर सुकुम्वासी समस्या समाधान गर्नेमा प्रधानमन्त्रीसहित सबैको साझा धारणा रहेको छ । तीनकुनेको समसया पनि चाँडै समाधान गर्ने प्रतिवद्धता सरकारका तर्फबाट व्यक्त गरिएको छ’, अधिकारीले भने ।

बैठकमा महानगरका तर्फबाट मेयर र प्रमुख प्रशासकीय अधिकृतसहित ३२ नम्बर वडाका वडाध्यक्ष पनि सहभागी थिए । वैठक करिब डेढ घन्टा चलेको थियो ।यसअघि प्रधानमन्त्रीले फोहोर व्यवस्थापनका सम्वन्धमा छलफल गर्न बोलाएको बैठकमा बालेन अनुपस्थित भएका थिए । उनले गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोह पनि बहिष्कार गरेका थिए ।

(Visited 19 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services