सन्दीपबाट किशोरीले लगिन् एकलाख क्षतिपूर्ति, फैसला बिहीबार
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने साउन ३२ गतेको व्यग्र पर्खाइमा छन् । त्यस दिन नेपालको कुनै महत्त्वपूर्ण म्याच भएर होइन, आफ्नो मुद्दामाथि फैसला पेशी तोकिएकाले उनी त्यसको प्रतीक्षामा रहेका हुन् ।

फैसला चरणमा रहेको मुद्दाको पेसी विभिन्न बहानामा पटक–पटक धकेलिँदै आएको छ । सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको फैसला गर्न आदेश दिएको भए पनि जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता देखाएका छैनन् । तर, ३२ गतेको सुनवाइ भने स्थगित नहुने आशा सन्दीपको छ । उक्त दिनको पेशी सूचीमा उनको मुद्दा पहिलो नम्बरमा छ ।

नेपाली क्रिकेट टीमले अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिताका रूपमा एसिया कप क्रिकेट खेल्दैछ । अगष्ट ३० ९भदौ १३ गते० बाट सुरु हुने एसिया कपको पहिलो म्याच नै नेपालले आयोजक पाकिस्तानसँग खेल्ने तालिका छ । नेपालको प्रमुख बलरका रूपमा रहेका अदालतबाट ‘क्लीन चिट’ लिएर एसिया कपमा प्रतिस्पर्धा गर्न चाहन्छन् ।

सन्दीप निकट स्रोत भन्छ, ‘मनमस्तिष्कमा मुद्दाको तनाव र बोझ लिएर मैदानमा प्रदर्शन गर्न सहज भइरहेको छैन । फैसलामा थप ढिलाइ भयो भने एसिया कप खेल्ने सम्भावना न्यून छ ।’ न्यायनिरुपणमा ढिलाइ हुँदा आफ्नो करिअर गम्भीर रूपमा प्रभावित बनिरहेको सन्दीपले महसुस गरेका छन् । विगतमा हरेक देशका टी–२० लिग खेल्दै आएका उनी अहिले थुप्रै लिगमा छुटिसके । यसले आर्थिक रूपमा पनि ठूलो नोक्सानी व्यहोर्नुपरेको स्रोतको भनाइ छ ।

‘आर्थिक पक्ष एउटा पाटो हो, तर त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको फ्री माइन्डमा खेल्न पाइरहनुभएको छैन । एसिया कपजस्तो चुनौतीपूर्ण प्रतियोगितामा पनि मुद्दाको टेन्सन बोकेर मैदानमा भिड्नुपर्‍यो भने प्रदर्शन सोचेजस्तो नहुन सक्छ । त्यसैले अदालतले फैसला गरेन भने एसिया कप नखेल्ने मनस्थितिमा हुनुहुन्छ ,’ स्रोतले भन्यो ।

यदि सन्दीप एसिया कपमा सहभागी भएनन् भने नेपालका लागि ठूलो धक्का हुने निश्चित छ । भारत र पाकिस्तानजस्ता शक्तिशाली राष्ट्रहरुविरुद्धको भिडन्तमा सन्दीपबिनाको टिमको मनोबल कमजोर हुने नेपाल क्रिकेट संघका अधिकारीहरु पनि स्वीकार्छन् ।एक पदाधिकारीले भने, ‘हामी पनि उहाँको मुद्दा चाँडो छिनोफानो होस भन्ने पक्षमा छौं । अहिलेको अवस्थामा सन्दीप बिनाको नेपाली टीम सोच्न पनि सकिँदैन ।’

एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएपछि सन्दीप पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले सो आदेश उल्टाउँदै सन्दीपलाई रिहा गरिदियो । पछि सर्वोच्चले उच्चको आदेश कायम राख्नुका साथै सन्दीपलाई विदेश गएर क्रिकेट खेल्ने समेत अनुमति दिएको छ ।

सन्दीपले थुनामुक्त भएलगत्तै राष्ट्रिय टिममा कमब्याक गरेका थिए । त्यसयता निरन्तर उनले नेपालका लागि खेलिरहेका छन् र उत्कृष्ट प्रदर्शन पनि गरिरहेका छन् । नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा पुर्‍याउन, एक दिवसीय मान्यता कायम राख्न तथा एसीसी प्रिमियर लिग जित्दै एसिया कपमा स्थान बनाउन सन्दीपको ठूलो योगदान छ ।

सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा पनि कमब्याक गरेका छन् । उनले हालै क्यानडामा आयोजित ग्लोबल टी–२० मा सर्रे जगुअर्सबाट खेल्दै उत्कृष्ट प्रदर्शनसमेत गरे । उनी अन्य देशका फ्रेन्चाइजहरुमा पनि सहभागी हुने योजनामा छन् ।

यता अदालतमा उनीविरुद्धको मुद्दा भने लामो समयदेखि किनारा लाग्न सकेको छैन । सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको एक वर्ष पुग्न लागिसकेको छ । बिहीबार मुद्दाको सुनवाइ भएन भने सन्दीपको एसिया कप प्रभावित बन्न सक्छ ।

किशोरीले लगिन् एक लाख

यसैबीच सन्दीपविरुद्ध जाहेरी दिने किशोरी गौशाला २६ ले अदालतबाट एक लाख रुपैयाँ बुझेकी छन् ।मुद्दाको फैसला लम्बिएपछि जिल्ला अदालतले गत असारमा उनलाई सरकारी कोषबाट एक लाख रुपैयाँ दिलाउन आदेश गरेको थियो । त्यस बमोजिम गौशालाले एक लाख रकम बुझेको अदालत स्रोतले बताएको छ ।

(Visited 22 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services