
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोगिरहेका समस्या दीर्घकालीन रुपमा निराकरणका लागि विस्तृत अध्ययन गरी प्रस्ताव पेस गर्न सरकारी निकायहरूलाई निर्देशन दिएका छन् । नेपालीहरूले समस्या भोग्ने क्रम नरोकिएपछि उनले सरोकारवाला सरकारी अधिकारीहरुलाई शुक्रबार बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
शुक्रबार बिहान भएको छलफलमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्रसचिव, श्रमसचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायत अधिकारीहरू थिए । उनले चाँडै अर्को बैठक गर्ने र त्यसबेलामा अध्ययन गरी प्रस्ताव पेस गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्नुपर्ने बताए ।शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय विषयमा छलफल भएको थियो । छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसका निम्ति यही श्रावण ३१ गते एक औपचारिक समारोहको आयोजना गरिनेछ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services