दुर्गमका कर्मचारीलाई सुगममा अवसर
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरुको रोजेअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा थालेको छ ।सरुवाका लागि सोर्सफोर्स लगाउन नसकेकै कारणले दुर्गम क्षेत्रका कार्यालयमा मात्रै रहिरहनुपर्ने बाध्यतामा रहेका कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको निर्देशनमा उनीहरूले रोजेअनुसारकै सुगम क्षेत्रका कार्यालयमा सरुवा गर्न थालिएको हो ।मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेका कर्मचारीहरुबाट सुगम क्षेत्रका कार्यालयसहित रोजेर निवेदन दिन ९ दिनको समय दिएर निवेदन मागेको थियो । त्यस्तै सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीबाट पनि दुर्गम क्षेत्रका कार्यालय रोजेर निवेदन माग गरेका थिए ।

सोही निवेदनअनुसार माग भएको कार्यालयमा पहिलो चरणमा नायब सुब्बाहरुको सरुवा भएको छ । दुर्गमका विभिन्न जिल्लामा वर्षौदेखि सेवा प्रवाह गरिरहेका कर्मचारीहरुको उनीहरुले मागे अनुसारका कार्यालयमा सरुवा भएको छ ।जसअनुसार जिल्ला प्रशासन कार्यालय डोटीमा ५ वर्षदेखि कार्यरत नासु तिलक नेपालीको खानेपानी मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै इलाका प्रशासन कार्यालय पचौडी बैतडीमा ३ वर्षदेखि कार्यरत नासु नन्दराज पन्त भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् ।

ईलाका प्रशासन कार्यालय जोगबुढा डडेल्धुरामा ३ वर्षदेखि कार्यरत नासु लाल बहादुर धामीको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, सडक डिभिजन भातकाडा डोटीमा ३ वर्षदेखि कार्यरत नासु सुनिल कुमार रोकायको सहरी विकास मन्त्रालय वा अन्तर्गत्, जिल्ला प्रशासन कार्यालय मनाङमा ३ वर्षदेखि कार्यरत नासु गणेश न्यौपानेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र जिल्ला निर्वाचन कार्यालय मुगुमा २ वर्षदेखि कार्यरत नासु रत्न बहादुर रावलको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्को कार्यालयमा मागे अनुसारकै कार्यालयमा सरुवा भएको छ ।

दुर्गम क्षेत्रका विभिन्न कार्यालयमा कार्यरत ४५२ जना कर्मचारीले सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिएका थिए । जसमध्ये उपसचिव २, शाखा अधिकृत १२, नायब सुब्बा ६५, खरिदार ७५ र कम्प्युटर अपरेटर ४९ जना छन् । प्राप्त ४५२ निवेदनमध्ये २१२ जनाको निवेदन मन्त्रालयको कार्यक्षेत्र बाहिरको परेको छ मन्त्रालयले सुगम क्षेत्रका विभिन्न कार्यालयमा वर्षौंदेखि जरा गाडेर बसिरहेका कर्मचारीहरुलाई पनि दुर्गम क्षेत्रका स्थानीय तहमा खटाइरहेका छन् । हालसम्म शाखा अधिकृत र उपसचिव गरी ४८ जनालाई दुर्गम क्षेत्रका विभिन्न स्थानीय तहमा खटाइ सकिएको मन्त्रालयले जनाएको छ ।

(Visited 20 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services