पारसको चर्चाले तरङ्गित नेपाली क्रिकेट
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः3 years ago

नेपाल क्रिकेट सङ्घ क्यानको असोज ५ र ६ गते हुने केन्द्रीय निर्वाचनका लागि तयारी तीव्र पारेका छन् । अहिलेसम्मको अवस्थामा वर्तमान कार्यसमितिमा रहेकाहरूकै बिचमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेको अवस्थामा वर्तमान अध्यक्ष चतुर बहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह चुनावी प्रतिस्पर्धामा देखिएका छन् । तर यहाँ तेस्रो पक्ष पनि रहेको केही सङ्केतहरू भने देखा पर्न थालेका छन् । अहिले जिल्ला अधिवेशनहरू सुरु भएकाले अहिले नै यो पक्ष बलियो भन्ने अवस्था भने रहेको छैन ।

यसबिचमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले पनि क्यानको कुनै न कुनै भूमिकामा आफू आउन चाहेको सङ्केत गरिसकेका छन् ।

२ वर्ष अघि आजकै दिन सक्रिय खेलाडीको रूपबाट संन्यास घोषणा गरेका पारसलाई अब विधान अनुसार कुनै पनि पदमा निर्वाचन लड्न बाधा भने पुग्दैन । तर, उनी जिल्ला, प्रदेश हुँदै प्रतिनिधि भने भएर आउनु पर्छ । कि जिल्लाबाट सिधै केन्द्रीय प्रतिनिधिमा आउनु पर्छ होइन भने प्रदेशको पदाधिकारी भएर केन्द्रको चुनाव लड्न बाटो खुल्छ । अहिलेसम्मको अवस्थामा पारस बागमती प्रदेशको तयारीमा रहेको बुझिएको छ । उनी बागमती प्रदेशको अध्यक्ष हुँदै केन्द्रीय कार्यसमितिको चुनाव लड्ने तयारीमा रहेका छन् ।

पारसले बिहीबार मात्रै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘खेलाडीको रूपमा क्रिकेटबाट मैले संन्यास लिएको दुई वर्ष बित्दै गर्दा अहिले  मेरो लक्ष्य नेपाल क्रिकेटलाई अझै थप उचाइमा पुर्‍याउनेमा केन्द्रित छ । सोही अनुरूप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरूको  जोस , जाँगर र ऊर्जालाई एकीकृत रूपमा सङ्गठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्‍याउने ध्येय बनाएको छु।

तसर्थ : हजुरहरू सबैको सहयोग, हुटहुटी र समर्थनको अपेक्षा राख्दछु। नमस्ते ।’

यसबाट प्रस्ट हुन्छ की पारस क्यानको आउँदो चुनावमा प्रतिस्पर्धा गर्न चाहन्छन् । अहिलेको अवस्थामा पारसले आफू कुन टिम र को समूहबाट चुनाव लड्ने औपचारिकरुपमा केही पनि बताएका छैनन् । केही समय पहिला नेप्लेजले पारसलाई चुनावी प्रसङ्गमा जिज्ञासा राख्दा अहिले नै आफूले फलानो टिम भनेर नसोचेको बताउँदै पर्ख र हेरको अवस्थामा रहेको बताएका थिए । त्यति बेला यो पनि भनेको थिए कि ‘म क्रिकेटकै विकासका लागि आउने हो, नेपाली क्रिकेटमा विगतमा खेलाडी भएर योगदान गरे अब मलाई सङ्घमा आएर क्रिकेटको विकासमा योगदान गर्न मन छ ।’तर, पारसलाई साथ लिनका लागि अहिले कोषाध्यक्ष रोशन सिंह भन्दा अध्यक्ष चतुर बहादुर चन्द नै लागेको जस्तो देखिएको छ । अध्यक्ष चन्दले अहिले विभिन्न ठाउँमा पुगेर पारसलाई आफ्नो टिमबाट चुनावमा उठाउने बताउन थाले पछि विगतदेखि नै उनकै नजिक भएकाहरू भने केही हच्किन थालेका छन् । विगतमा कुनै पनि पद नलिएर चन्दलाई निस्वार्थ सहयोग गरेकाहरूले एकाएक आफूहरूलाई बाहिर राखेर नयाँ समूह बनाउन खोजेको भन्दै चन्दसँगै दूरी बढ्न थालेको बुझिएको छ । अहिलेसम्म केही अन्य व्यक्तिले पनि चुनावको तयारी गर्दै गर्दा कतै पारससँग त प्रतिस्पर्धा हुने अवस्था आउँदा अध्यक्ष चन्दको साथ नपाए के गर्ने भन्ने सम्मका रणनीतिहरू बनाइरहेका बुझिएको छ । चुनावी तयारी गरिरहेका एक व्यक्तिले नेप्लेजसँग भने ‘म पर्सनल्ली पारसको विरोधी होइन, तर एकै पटक केन्द्रमा आउनुको साटो स्टेप वाइज आउँदा राम्रो हुन्छ जस्तो लाग्छ ।’पारसले नेपाली क्रिकेटमा ठुलो योगदान गरेकाले उनको सङ्घमा कुनै न कुनै भूमिका एकदमै आवश्यक भए पनि विगतदेखिको कामको समीक्षा गरेर अघि बढ्नु पर्नेमा धेरैले बताउने गरेका छन् ।

(Visited 255 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services