पारस खड्काको बागमती प्रदेश अध्यक्ष लड्ने तयारी
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः12 months ago

काठमाडौं । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै पूर्वकप्तान पारस खड्का क्रिकेटको व्यवस्थापनतिर जाने तयारीमा जुटेका छन् ।

खड्काले १९ साउन २०७८ मा दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पुरा भयो ।

यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो खुलेको छ । किनकी क्रिकेट संघको विवादमा कार्यसमितिको पदाधिकारी वा सदस्य निर्वाचित हुन राष्ट्रिय टोलीमा सहभागी नभएको दुई वर्ष हुनुपर्ने व्यवस्था छ । र, क्रिकेटको व्यवस्थापनतिर जाने उनको पूर्वघोषणा हो ।

बागमती प्रदेश अध्यक्ष लड्ने तयारी

क्रिकेट संघको कार्यसमितिले असारमा तय गरेको निर्वाचन कार्यतालिका अनुसार अहिले जिल्ला संघको चुनाव हुन थालेको छ ।

पारस पनि यसमै व्यस्त छन् । उनले २८ असारमै क्रिकेट संघको विधान अनुरुप योग्यता पुग्ने खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर र क्लबका प्रतिनिधिहरुलाई सदस्यता सुनिश्चित गर्न आह्वान गरेका थिए । अहिले जिल्लाको चुनावमा आफ्नो पक्षका प्रतिनिधिहरु ल्याउन भेटवार्ता र लबिइङ गरिरहेका छन् ।

क्रिकेट संघको चुनावी तालिकाअनुसार साउन मसान्तभित्र जिल्ला निर्वाचन भइसक्नुपर्छ ।

१० भदौभित्र प्रदेशको चुनाव हुनेछ । खड्काले बागमती अध्यक्षको चुनाव लड्ने तयारी गरेका छन् ।

बागमतीका काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुर जिल्लामा क्रिकेट संघ छ ।

जिल्लाको चुनावका क्रममा प्रदेश अधिवेशनका लागि चार–चार जना प्रतिनिधि छनोट हुने छन् भने वर्तमान कार्यसमितिमा रहेका १३ जनाले मतदान गर्न पाउनेछन् । हाल राजु बस्न्यात अध्यक्ष छन् । कार्यसमितिमा पनि बहुमत छ भएकाले बागमती आफूहरु बलियो अवस्थामा रहेको खड्का पक्षको दाबी छ ।

केन्द्रको चुनावमा के गर्छन् ?

क्रिकेट संघको केन्द्रीय निर्वाचन असोज ५–६ मा तोकिएको छ । हालसम्म वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह अध्यक्षको उम्मेदवारका रुपमा देखिएका छन् । खड्का र उनको पक्षले यसबारे केही बोलेको छैन ।

तर क्रिकेट संघको शक्ति सन्तुलन त्रिपक्षीय छ । चन्द, सिंह र खड्का पक्ष हारहारी जस्तै छ । त्यसैले आसन्न निर्वाचनका क्रममा खड्का पक्षलाई साथमा लिएर प्यानल बनाउने वर्तमान अध्यक्ष चन्दको प्रयास छ । पूर्व कप्तान खड्का भने बागमती प्रदेशको चुनावपछि यसबारे प्रष्ट बोल्ने बताउँछन् ।

(Visited 18 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services