
काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।
नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो ।
श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।
बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म https://ferms.dofe.gov.npमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट ९जीटुजी० प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो ।
उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् । उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् ।नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।
त्यसैगरी, बेलायत जान चाहानेले कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य गरिएको छ ।
यस्तो योग्यता पूरा गरेकाहरुमध्ये संक्षित सूची तयार (सर्ट लिस्टिङ) गरेर अन्तर्वार्तामार्फत बेलायत जान पाउनेहरु छानिने छन् । त्यस्तै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।प्रोटोकलले यस्तो आवेदन दिन तोकिएका योग्यताहरु पूरा भएको हुनुपर्ने अनिवार्य गरेको छ । नेपाल नर्सिङ परिषद्को तथ्याङ्कअनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति ९लाइसेन्स० लिएका छन् ।
नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने तथ्यांक परिषद्सँग छैन । पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्ने भए पनि पढाइबाहेक अन्य कामका लागि विदेश जान स्वीकृति चाहिंदैन ।नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् ।
यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तै, करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् । देशमा बेरोजगार भएका वा उचित पारिश्रमिक नपाएर नर्सहरु विभिन्न अवसरको खोजीमा विदेशिने क्रम जारी छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services