काठमाडौं महानगरले रोप्यो २५ हजार विरुवा
प्रकाशित मितिः1 year ago

काठमाडौं – काठमाडौं महानगरपालिकाले पछिल्लो समय महानगरभित्र हरियाली प्रवर्धनका लागि २५ हजार रुख तथा विरुवाहरु रोपेको छ ।

महानगरले करिब तीन महिनाअघि सुरु गरेको हरियाली प्रवर्धन आयोजनाअन्तर्गत रहेर चालु आर्थिक वर्षमा महानगरभित्रका विभिन्न क्षेत्रमा २५ हजार विरुवाहरु रोपिएका हुन् । आयोजनाका प्रमुख नवराज थापाकाअनुसार महानगर क्षेत्रभित्रका विभिन्न वडाहरुमा विरुवाहरु रोपिएको छ ।

वडा नम्बर २८ को पुतलीसडक क्षेत्रमा र आर्कब्रिज, बिजुलीबजार क्षेत्रमा केही दिनअघि विरुवाहरु रोपिएको छ,’ उनले भने, ‘त्यस्तै खुल्लामञ्च, रत्नपार्क र बालाजु २२ धाराभित्र, धुम्बाराहीको शंखपार्कभित्र विरुवाहरु रोपिएको छ ।’

महानगरले चालु आर्थिक वर्षमा हरियाली प्रवर्धनका लागि छुट्टै आयोजना बनाएर काम गरेको उनले बताए । चालु आवको सुरुवातमा महानगरअन्तर्गतको वतावरण विभागबाटै हरियाली प्रवर्धनका लागि बोटविरुवा रोप्ने योजना भएपछि भने बेग्लै आयोजनाको सुरुवात गरेर बोटविरुवटा तथा फुलहरु रोप्न सुरु गरिएको उनले बताए ।

हरियाली प्रवर्धन आयोजनाअन्तर्गतबाट अहिले महानगरले विगतमा विरुवा रोपिएपछि नहुर्किएको तथा मरेका विभिन्न ठाउँमा पनि विरुवाहरु रोपिरहेको छ ।

थापाकाअनुसार बिजुली बजार पुलदेखि ओम अस्पतालसम्मको कोरिडार क्षेत्रमा विगतमा रोपेर मरेका विरुवाहरु हटाई नयाँ विरुवाहरु रोपिएका छन् ।

थापा भन्छन्, ‘त्यहाँ पहिले पनि विरुवा रोपिएको थियो । हामीले मरेका विरुवाहरु हटाएर नयाँ विरुवाहरु रोपेका छौं ।’

त्यस्तै, त्रिपुरेश्वरदेखि कंलकीसम्मको सडकखण्डमा पनि पहिले रोपिएको तर नहुर्किई मरेका विरुवाहरुलाई हटाई नयाँ विरुवाहरु रोपिएका छन् ।

‘६ नम्बर वडा, ७ नम्बर वडा, ५ नम्बर वडा, ३१ नम्बर वडा, ३२ नम्बर वडामा विरुवाहरु रोपिएका छन्’, थापाले भने, ‘जडिबुटि क्षेत्रमा पनि तिनकुने वरपर विरुवा रोप्नका लागि खाल्डो खनिएको छ । तर, केही दिनयता पानी परिरहेकाले अहिले त्यहाँ विरुवा रोप्ने काम रोकिएको छ । केही दिनमा त्यहाँ पनि रोप्छौं ।’

थापाकाअनुसार वातावरण विभागअन्तर्गतकै बजेटलाई खर्च गरेर चालु आवमा विरुवाहरु रोपिएको छ । थापा भन्छन्, ‘अहिले विभागअन्तर्गतकै बजेटको खर्च गरेर विरुवा रोपिएका छन् । गोटाको दरमा खर्च भएको छ । आगामी आवमा भने आयोजनाकै लागि बजेट छुट्याएर काम गर्ने योजना बनेको छ ।’

साना र ठूला रुखका विरुवा तथा फुलहरु गरि कुल २५ हजार विरुवाहरु रोपिएको थापा बताउँछन् । उनी भन्छन्, ‘भर्खरै आयोजना गठन भएको तीन महिना जति मात्रै भयो । यो वर्षलाई हामीलाई परेको बजेट पनि सकिएको छ । अब आगामी वर्षमा यसलाई निरन्तरता दिने योजना छ ।’

 

थापाका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ मा हरियाली प्रवर्धनका लागि बोटविरुवा रोप्ने, तिनीहरुको संरक्षण तथा जर्गेना गर्नका लागि ५० करोड हाराहारीको बजेट रहेको छ ।

‘आगामी वर्षका लागि भएको बजेटबाट हामी प्रणाली नै बनाएर अघि बढ्छौं,’ उनी भन्छन्, ‘अहिले रोपिएको विरुवा भनेको वातावरण व्यवस्थापन विभागअन्तर्गतकै बजेटबाट काम भएको हो । त्यहि बजेटबाट केही विरुवा रोप्ने गरि मात्रै बजेट प्राप्त भएको छ । आगामी वर्षलाई भने ५० करोड जतिको बजेट राखेका छौं ।’

तीन महिनाअघि गठन भएको आयोजनाअन्तर्गत रहेर विभिन्न योजनाहरु बनाई पछिल्लो डेढ महिनादेखि विरुवाहरु रोप्न थालिएको थापाले बताए । समि, धूपि, कपुर, असारे फुल लगायतका विरुवाहरु रोपिएको उनले बताए ।

‘हामीले ठूला विरुवाहरु रोपिरहेका छौं,’ उनले भने, ‘खाल्डो खन्ने, मल हाल्ने, पानी हाल्ने काम गर्नुपर्यो । त्यहि मिलाउँदा आयोजना गठन भएको केही पछि मात्रै विरुवा रोप्न थालेका छौं । पानी पर्ने सिजनमै विरुवा रोप्नुपर्ने भएकाले हामीले अलि हतार हतार गरिरहेका छौं ।’

विगतमा पनि सडकको छेउछाउ तथा अन्य स्थानमा पनि हरियाली प्रवर्धनका लागि भन्दै विरुवाहरु रोपिएका थिए । तर, यसरी रोपिएको विरुवाहरुको संरक्षण नहुँदा मरेर जाने, मान्छेले चुँडिदिने लगायतका समस्याहरु महानगरले भोग्दै आएको थियो । यसपटक भने महानगरले ठूला विरुवाहरु रोपिरहेको थापा बताउँछन् ।

‘पहिले योजना पनि थिएन, एउटै कार्यालयले हेर्ने गरेको थियो,’ उनी भन्छन्, ‘तर, अहिले बाटोमा हेर्नुस, कम्तीमा ५ फिटभन्दा अग्ला झुम्म परेका समि, धूपि, कपुर, असारे फुलहरु रोपेका छौं । यसपटक अलिक हुर्किएकै विरुवा रोपेका छौं ।’

संरक्षणका लागि महानगरले हरेक वडामा काम गर्दा वडाध्यक्षलाई बोलाएर रोपिएका विरुवाहरुको संरक्षणको जिम्मा लिनुपर्ने बताइएको थापा बताउँछन् । उनी भन्छन्, ‘वरिपरिका व्यवसायीहरुलाई पनि हामीले पानी हाल्ने, सुरक्षा गर्ने भनेका छौं । यसमा अब हामी ट्रि गार्ड पनि लगाउँदै जानेछौं ।’

थापाकाअनुसार भदौको दोस्रो सातासम्म आयोजनाअन्तर्गत रहेर विरुवा रोपिनेछ । त्यसपछि भने बोलपत्र आह्वान गरेर ट्रि गार्ड खरिद गरिने तथा ठूला विरुवाहरुमा भएका ट्रि गार्डहरु पनि निकालेर साना हुर्कन बाँकी रहेका विरुवाहरुमा लगाउने योजना रहेको थापाले जानकारी दिए ।

उनले भने, ‘अहिले हामीले नभ्याएर हो। विरुवा रोप्नुपर्ने सिजन भएकाले हतारहतार विरुवा रोपिरहेका छौं । आगामी वर्ष हामी कुन ठाउँमा कस्तो विरुवा रोप्ने भनेर प्लान नै बनाएर काम गर्दैछौं ।’

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services