युवा ब्याटर सुर्यांशुलाई २५ हजार सहित सम्मान
प्रकाशित मितिः3 years ago

अघिल्लो साता नेपाललाई एसिसी यू१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता उपाधि जिताउन राम्रो प्रदर्शन गरेका युवा ओपनर सुर्यांशु कोइरालालाई जिल्ला क्रिकेट संघ चितवनले सम्मान गरेको छ ।

सुर्यांशुलाई उनको गृह जिल्ला चितवन जिल्ला क्रिकेट संघले बुधबार राजधानीमा आयोजित कार्यक्रममा नगद २५ हजार सहित सम्मान गरेको हो ।

प्रतियोगितामा सुर्यांशुले नेपाल यू १६ बाट सबै चार खेल खेलेका थिए । नेपाललाई अपराजित रहँदै उपाधि जिताउन उनले १ सय १२ रन बनाएका थिए ।

उनले सेमिफाइनलमा इन्डोनेसियाविरुद्ध नेपालबाट सर्वाधिक ४३ रनको योगदान दिएका थिए । त्यस्तै फाइनलमा मलेसियाविरुद्ध उनले १८, समूह चरणमा थाइल्यान्डविरुद्ध ४० र मलेसियाविरुद्ध २९ रन बनाउँदै आउट भएका थिए । सबै खेलमा राम्रो सुरुवात दिएपनि ठूलो इनिङ खेल्न चुकेका थिए ।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह, सदस्य प्रशान्तविक्रम मल्ल, चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष उमेश पिया, सदस्यहरु उत्सव श्रेष्ठ र राजु गुप्ताले सुर्यांशुलाई सम्मान गरेका थिए ।

सुर्यांशुका व्यवस्तताका कारण काठमाडौंमा कार्यक्रम गर्नु परेको चितवन जिल्ला क्रिकेट संघका उपाध्यक्ष पियाले जनाए । भारतको भोपालमा क्रिकेट स्कुलमा पढ्दै आएका सुर्यांशु केही दिनमा त्यसतर्फ लाग्नेछन् ।


(Visited 13 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services