पलको आक्रोश : देश छाेडाैं कि आत्मदाह गरौँ ?
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः3 years ago

काठमाडौँ । अभिनेता पल शाहले अदालतबाट सफाई पाएपछि पनि आफूमाथि लागेको बलात्कारीको ट्याग अझै नहटाइएको भन्दै दुख व्यक्त गरेका छन् । बलात्कार अभियोगमा अदालतबाट सफाइ पाइसक्दा पनि आफूलाई बारम्बार दुत्कारिएको निराशा व्यक्त गरेका हुन्।

पलले कान्तिपुर टेलिभिजनबाट प्रसारित ह्वाट द फ्लपमा आफूसँग गरिएको कुराकानी विवादित बनेर हटाइएपछि सोमबार साँझ सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै अदालतबाट सफाई पाएपछि पनि आफूले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँड्नु पर्ने हो भन्दै प्रश्न गरेका छन् ।

अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टिकाटिप्पणी हुन थालेपछि पलले आफूले कानुन अनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरेका हुन् । ‘म के गरौँ? कसरी बाचौँ ? कसरी हिँडौँ, कसरी बोलौँ, कसरी खाउँ ? कसरी लाउँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छाडौँ ?  कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ’, पलले लेखेका छन् ।

आफूले विगतमा कानूनलाई सम्मान गरेर एक वर्षसम्म जेल बसेको र अदालतबाट सफाई पाएकै कारण निस्किएको भन्दै उनले अगाडि लेखेका छन्, ‘कानूनले तँ सही छस् भनेर सफाई दिएको विषयलाई जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदो रहेछ ।’

‘एक वर्षे कारागार बसाईंमा मैले पाएका दुःखलाई आँसुले छिपिक्क भिजाएको छु । पीडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुःखलाई खुसी मुद्रामा साट्दा तपाईंहरुमा परेको असरप्रति क्षमा चाहन्छु । कानुनले ‘तँ’ सही छस् भनेर सफाई दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदो रहेछ ।’

यस्तो छ उनको स्टाटस:

मानवीय जीवन हो उतार चढाव हुन्छ । म नि मानव हो । म भित्र पनी मानवीय संवेदना छ । म रुन्छु हाँस्छु । तपॉईहरु जस्तै ……म माथि आरोप लाग्यो, मैले कानुनलाई सघाउन सम्बन्धित निकायमा पुगे र १ वर्ष कारागारमा रहे । सम्मानित अदालतबाट उक्त आरोपबाट “सफाई” पाएर म तपॉईहरु जस्तै सामान्य जीवन यापन र कर्म गर्दै आइरहेको छु ।

मलाई थाहा छ, बुझेको पनी छु म एक सार्वजनिक व्यक्ति हुँ । मैले गर्ने हरेक गतिविधि समाजसँग जोडिएको हुन्छ । म साना साना कुरामा संवेदनशील हुनु पर्दछ र मेरो सेन्स अफ ह्युमरले सक्ने जति म संवेदनशील बन्ने कोसिसमा छु । पछिल्लो समय कान्तिपुर टिभी बाट प्रसारित “What The Flop Show” मा मैले अन्तरवार्ता दिएको थिए । उक्त अन्तर्वार्ता प्रसारण भई सकेपछि सामाजिक सञ्जालमा हाम्रो शैलीको चर्को विरोध भई रहेको छ । प्रसारित कार्यक्रममा “हासि हासि बोल्यो बलात्कारी, जेलका कुरालाई मजाकमा उडायो” जस्ता आरोप लागेका छन् ।

म एक्लै यो धर्तीमा कहिबाट उत्पत्ति भएको हैन । मेरो पनी एउटा परिवार छ । परिवार भित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनी छन् । उनीहरूमा के बित्छ होला जहिल्यै बलात्कारीको ट्याग दिदा ? कहिल्यै सोच्नु भएको छ परिवारमा पर्ने आघातका बारेमा ? उनीहरूलाई मानसिक, व्यक्तिगत, सामाजिक जीवनमा कस्तो असर पर्ला कस्तो दाग रहला ? कहिल्यै त्यो ठॉउमा आफ्नो परिवार राखेर सोच्नु भएको छ ? म स्पष्ट पार्न चाहन्छु । मेरो तर्फबाट मृत या जीवित, आरोपित होस या अपराधी सबैप्रति मेरो सम्मान छ । म मेरो देशको कानुनलाई शिरोपर गरी कानुनलाई सघाएको मानिसले कानुन उल्लङ्घन या कसैको अवहेलना गर्नेबारे सोच्न सम्म सक्दिन ।

मेरो जीवनको एक वर्ष म युनिभर्सिटीमा थिए । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू मैले रोएर मात्र बोल्नु पर्ने हो र ? मैले कसैको नाम नलिईकन त्यहाँ भित्र मैले भोगेका देखेका कुरा हाँसेरै सरकार सामु अपिल गर्दा पनी मैले गाली खानु पर्ने हो ? म मेरा दुखका अनुभव हाँसेर कसैसँग शेयर गर्नै नपाउने हो ? मैले कसलाई मजाकको पात्र बनाएको छु ? म रुँदै अन्तर्वार्ता दिनु पर्ने हो ? म मेरो दुखमा सधैँ रुनु पर्ने हो या मैले मेरा दुखका अनुभव हाँसी हासि साट्न र जित्न पनी पाउँछु ? धेरै कुरा अनुत्तरित छन् र मैले बुझ्न सकेको छैन मेरो जीवनमा मैले गर्नु पर्ने के हो नगर्नु पर्ने के हो ? समाजका तपाईंहरु जान्ने बुझ्नेले मलाइ उत्तर दिनु होला !!!

अदालतबाट “सफाई” पाइसकेपछि पनि मैले निधारमा “म बलात्कारी हुँ” लेखेर हिडौ कि दुख पिडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवन यापन गरौँ ? मलाई पल शाह बनाएको तपॉईहरुले हो यस कारण म प्रश्न पनी तपॉईहरु समक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बॉचौ ? कसरी हिडौ ? कसरी बोलौँ ? कसरी खाऊ ? कसरी लाऊ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?

एक बर्षे कारागार बसॉईमा मैले पाएका दुखलाई आशुले छिपिक्क भिजाएको छु । पिडाको पहाड छ । तर ती सबै भुलेर मैले कसैको अपमान नगरी, कसैको नाम समेत उच्चारण नगरी दुखलाई खुसी मुद्रामा साट्दा तपॉईहरुमा परेको असर प्रति क्षमा चाहन्छु । कानुनले “ तँ “ सही छस् भनेर “सफाई” दिएको विषय जोडेर बारम्बार प्रहार हुदॉ जीवन जिउने अभिलाषा सकिँदो रहेछ ……. सबैमा माया सम्मान र धन्यवाद । ‘

(Visited 69 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services