सिड्नीका नेपाली समुदाय माझ हुर्कदै ‘ध्यान र योगा’ संस्कार
प्रकाशित मितिः3 years ago

सिड्नी । व्यस्त र दौडधुपको दैनिकीका कारण उत्पन्न हुने मानसिक तनाबलाई ध्यान र योग मार्फत कम गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया र विद्यार्थी सहयोग कमिटीको संयुक्त आयोजनामा शनिबार सिड्नीमा आयोजित एकदिने ध्यान, योग र प्रेरणा शिविरमा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।

सिड्नीका विभिन्न सअर्वहरुमा रहेका नेपाली विद्यार्थी, अभिभावक र अन्तराष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गर्दै शिविर आयोजना गरिएको थियो । शिविरमा ध्यान प्रशिक्षक प्रकाश भट्टराईले नियमित ध्यान मार्फत तनाब, रिस र क्रोध व्यवस्थापन गर्दै कसरी जीवन सफलता हासिल गर्न सकिन्छ ? भन्ने विषयमा सहजीकरण गरेका थिए । ‘तनाब, रिस र आवेगलाई नियन्त्रण गर्न मनोवैज्ञानिक रुपमा हामीले सधै सकरात्मक सोच्नुपर्छ’, उनले जोड दिएका थिए । त्यस्तै, प्रेरणादायी योगाका विषयमा आचार्य राजन शर्माले प्रशिक्षण दिदै योगका बहुआयामिक फाइदाका विषयमा चर्चा गरेका थिए । सिड्नीमा नेपाली समुदाय माझ पछिल्लो समय योग र ध्यान गर्ने संस्कार हुर्कदै गएको छ ।

विद्यार्थीहरुलाई अध्ययन र कामसँगै बढ्ने मानसिक तनाब कम गर्ने उद्देश्य शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक बद्री बरुवालले जानकारी दिए । ‘यसले आम सहभागिहरुमा सकरात्मक उत्प्रेरणा प्रदान गरेको छ’ उनले भने, ‘आगामी दिनमा पनि यस्ता शिविरहरु सञ्चालन गर्नेछौँ ।’ शिविरमा एनआरएनए न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ, विभिन्न समुदायका अगुवाहरु सहित १ सय भन्दा बढी सहभागिता थियो भने कार्यक्रमको सहजीकरण मदन कोइरालाले गरेका थिए । कार्यक्रमलाई प्यासिफिक कलेज अफ टेक्नोलोजीले मुख्य प्रायोजन गरेको थियो ।

(Visited 135 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services