
सिड्नी । अस्ट्रेलियाले १३ औँ शताब्दीतिर निर्माण भएको काठमाडौँस्थि रत्नेश्वर मन्दिरको टुँडाल गतहप्ता नेपाललाई नै फिर्ता गर्यो । लामो समयदेखि हराईरहेको टुँडाल सिड्नीस्थित आंर्ट ग्यालरीमा भेटिएपछि, केहि बर्षदेखि फिर्ता गर्ने प्रयासले अन्तत: मुर्तरुप पाएको थियो । टुँडाल, एउटा सामान्य काठको बस्तु मात्र होइन् । १३ औं शताब्दी तिर निर्माण भएको मानिएको टुँडालभित्र नेपाली शिल्पकारहरुको कला र प्रतिभा झल्किएका छन् । खाशमा, यौन झल्किने र यौनाँगहरु अंकित आकृतिहरुले त्यतिबेलाको नेपाली समाजको अवस्था मात्र बुझाउँदैन्, नेपाली शिल्पकारहरुले कति ‘अडभान्स’ थिए भनेर पनि बुझ्न सकिन्छ ।
यौनका बारेमा अस्ट्रेलिया अहिले जति खुल्ला छ, नेपाली शिल्पकारहरुले १३ औं शताब्दीतिर नै यौनलाई समाजमा खुल्ला रुपमा बुझिनुपर्छ भन्ने उद्घोष गरेका थिए भन्न सकिन्छ, तथापी, २१ औँ शताब्दीसम्म पनि नेपाली समाजमा छोटा लुगा लगाउने र साडी लगाउनेबीचमा हेर्ने दृष्टिकोण किन फरक छ ? यहि प्रश्नकै अन्तर्यमा लुकेको टुडाल चोरिएका परिदृश्यहरु । टुडाल भित्र कोरिएका आकृतिहरु जति शक्तिशाली छन्, उति नै अर्थपूर्ण पनि । त्यही बुझेरै नै अस्ट्रेलियाले दशकौँसम्म आफ्नो आर्ट ग्यालरीमा सुरक्षितका साथ राख्यो । धेरैको बुझाई छ, यौनलाई समाजमा जति खुल्ला रुपमा बुझ्न सकियो, समाज तथा देशको विकास त्यहि गतिमा हुन्छ, सायद यौनलाई लिएर अस्ट्रेलियाली शासकहरुले त्यहि बुझाई राखे अनि त सामाजिक, आर्थिक र भौतिक विकासले एउटा बाटो तय गर्यो । नेपाल लगायतका देशमा कानुनद्धारा बर्जित मानिएको ‘यौनधन्दा’ अस्ट्रेलियामा वैधानिक रुपमा खुल्ला छ, यसलाई ‘धन्दा’ होइन्, आवश्यकताका रुपमा विकास गरिरहेका छन्, जसबाट राज्यले अरबौ रुपैयाँ आम्दानी पनि गरिरहेका छन् ।

नेपालको ऐतिहासिक धरोहर भएको पुष्टि पछि, ती टुँडाल काठमाडौँ पुर्याईएको छ । करिब ५० बर्षपछि टुँडाल फिर्तीले अस्ट्रेलियामा रहेका नेपाली समुदायको मानसपटलमा एउटा प्रश्न त जरुर उजागर भएको छ । खाशगरि, देश र देशको माटोलाई औधी मायाँ गर्नेहरु भित्रभित्रै जलेका छन् । नेपालीहरु कहिले देखि अस्ट्रेलिया आउन थाले ? कुनै आधिकारिक विवरण छैन्, तथापी सन् १९५० को दशक देखि, नेपालीहरुको अस्ट्रेलिया आउजाउ सुरु भएको मानिन्छ । आजको दिनसम्म आइपुग्दा, अस्ट्रेलियामा नेपाली समुदायको सँख्या तीब्र गतिमा बढिरहेको छ । जस्तोसुकै बाध्यताको छायामा परेर प्रवास छिरेको भएपनि, टुँडाल फिर्तीले आम नेपाली मनहरुलाई देशमै फर्कौ भन्ने भावनालाई बल पुर्याएको छ । देश छाडनुमा बढी जिम्मेवारी को होला ? यस विषयमा दुवै तरिकाले बहस गर्न सकिन्छ, तर राष्ट्रको विकासमा महत्वपूर्ण योगदान दिनसक्ने जोशिला, आँटिला र दक्ष युवा शक्तिको पलायनले सुन्दर देश बनाउने सपनामा धक्का चाही पक्कै लागेको छ ।
टुडाँल फिर्ताका लागि राज्यले जुन किसिमको तदारुकता र अग्रसरता लियो, प्रवासमा रहने आम नेपालीहरुलाई घर फिर्ताको वातावरण मिलाउन त्यसरी नै अग्रसरता लिए, कस्तो हुन्थ्यो होला ? उच्च शिक्षा हासिल गर्ने देखि सामान्य दैनिक गुजारा चलाउन समेत नसक्ने भएपछि, युवाहरु दिनहुँ वैदेशिक पलायन भइरहेका छन् । उनीहरुलाई देशमै केहि गर्ने आँट र साहस आउन नसक्नेमा उनीहरुको मात्र दोष पक्कै पनि छैन, राज्यको तर्फबाट हुनुपर्ने आधारभुत कुरा किन भइरहेको छैन् ? जिम्मेवार तहमा बस्नेहरुले सोच्नुपर्ने बेला भएको छ । अहिले देश नक्कली भुटानी शरणार्थी काण्डले तातेको छ, अर्थात राज्य सञ्चालकहरुकै संगठित अपराध र भ्रष्टाचारको नालीबेली उध्रिएको छ । देशमा भ्रष्टाचार कुन तहसम्म रहेछ भन्ने यो नै एउटा गतिलो उदाहरण हो । भ्रष्टाचारसँगै जोडिएर आउँछ नाताबाद र कृपाबाद । यीनै अव्यवस्थाहरु नै नागरिकलाई पलायन हुन बाध्य पारिरहेका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services