
काठमाडौं । जिम्बाबेमा आयोजना हुने आइसीसी विश्वकपको ग्लोबल क्वालीफायरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।
यस्तै सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् ।भारतमा हुने वान डे विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन९जुलाईमा जिम्बावेमा हुँदैछ । जसमा टेष्ट मान्यताप्राप्त चार राष्ट्र र एसोसिएट ६ टिमले खेल्नेछन् ।जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।
यसैबीच, नेपाली टोलीको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् । नेपालमा केहि दिन प्रशिक्षण गरेपछि, नेपाली टोली अन्तिम तयारीका लागि दक्षिण अफ्रिका भ्रमणमा निस्कनेछ, जहाँ नेपालले नेदरल्याण्ड र स्कटल्याण्डसँग केहि अभ्यास खेल्ने कार्यतालिका रहेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services