
सिड्नी । पछिल्लो समय आम नेपालीलाई जोडिरहेको क्रिकेटले जति खुशी दिएको छ, त्यति नै महत्वपूर्ण प्रतियोगिताको रुपमा नेपाली टोलीले आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालीफायर खेल्दैछ । सोही प्रतियोगिताकै तयारी स्वरुप, नेपाली टोली केहि दिनमा दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । दक्षिण अफ्रिकामा १० दिन प्रशिक्षण र केहि अभ्यास खेलपछि नेपाल जिम्बाबे जाने कार्यतालिका छ, तर, यस्तो परिस्थितिका बीच, नेपाली टोलीका सबैभन्दा महत्वपूर्ण खेलाडी सन्दीप लामिछानेलाई रोक्ने उद्देश्यले उनी माथि लगाईएको मुद्दाको छिनाफानोमा ढिलाई भइरहेको छ ।
सर्वोच्च अदालतले राष्ट्रिय खेलाडी भएका कारण देश/विदेश जानुपर्ने भन्दै फास्ट ट्रयाकबाट मुद्दाको निरुपण गर्न आदेश दिएपनि, जिल्ला अदालत काठमाडाँैले तीन महिना भन्दा बढी समय बिताइसकेको छ । पटक–पटक पेशी स्थगित हुदै आएको छ । आइतबार, मुद्दाको अन्तिम छिनोफानो सहित फैसला आउने अपेक्षा गरिएपनि, अदालतले उल्टै यसअघि निरुपण भइसकेको विषयमा प्रवेश गर्दै, पीडित भनिएकी युवतीको सक्कली जन्मदर्ता झिकाउने आदेश दिएको छ, जुन यसअघि नै, सन्दीपका कानुनी व्यवसायीहरुले पेस गरिसकेका थिए । अब कहिलेसम्म उक्त सक्कल जन्मदर्ता अदालतमा पेश हुन्छ ? अनि पेशी तोकिएर, फैसला हुन्छ ? भन्ने कुनै टुँगो छैन । यहि कारण सन्दीपले दक्षिण अफ्रिका टूर गुमाउने पक्का जस्तै भएको छ भने जिम्बाबेमा हुने मुख्य प्रतियोगितामा समेत जान पाउने की नपाउने भन्ने संशय उत्पन्न भएको छ ।
नेपाली टिम जुन १ तारिख भित्र दक्षिण अफ्रिका जाने योजना बनाएको छ । न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलाशले सन्दीपविरुद्ध जाहेरी युवतीको जन्ममितिका विषयमा फेरि प्रमाणीकरण गरेर पठाउन सम्बन्धित गाउँपालिकालाई आदेश दिएको छ भने नारायणी अस्पताल वीरगन्जमा जन्मिएकी उनको अस्पतालमा रहेको रेकर्डको सक्कल विवरण पेश गर्न भनेको छ ।यसअघि सन्दीपको थुनछेक बहसका बेला अदालतमा पेश भइसकेको अवस्थामा फेरि गाउँपालिकातर्फ पठाउनु यो मुद्दामा ढिलाई गर्न खोजिएको रुपमा सन्दीपका कानुनव्यवसायीले बताएका छन् ।काठमाडौं जिल्ला अदालतले पुर्पक्षको थुनामा पठाएका सन्दीप उच्च अदालतको आदेशपछि २० लाख धरौटी बुझाएर रिहा भएका थिए । ९९ दिन पछि रिहा भएर मैदान उत्रिएका सन्दीपले १५ खेलबाट ४३ विकेट लिएका थिए । नेपाल क्रिकेट संघ क्यानले भने सन्दीपलाई जस्तोसुकै अवस्थामा भएपनि जिम्बाबेमा सहभागि गराउन पहल गरिरहेको जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services