अष्ट्रेलियाली सहायकमन्त्री वाट्स भ्रमणका तीन सन्देश
✍ जगदीश्वर पाण्डे
प्रकाशित मितिः1 year ago

काठमाडौ । अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स दक्षिण एसियाका चार मुलुकको भ्रमणको दौरान मंगलबार र बुधबार नेपाल भ्रमण गरे । उनको दुईदिने भ्रमण दुई मुलुकबीचको सांस्कृतिक सम्पदा, आर्थिक क्षेत्रमा सहकार्य र राजनीतिक सम्बन्धमा केन्द्रित रह्यो ।बंगलादेशबाट भुटान हुँदै मंगलबार काठमाडौं उत्रिएका सहायकमन्त्री वाट्स बुधबार साँझ नयाँ दिल्ली लागे । नेपाल र अष्ट्रेलियाबीच सन् १९६० फेब्रुअरी १५ मा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् १९८४ मा अष्ट्रेलियाले काठमाडौंमा दूतावास स्थापना गरेको थियो भने नेपालले क्यानबेरामा सन् २००७ मा दूतावास स्थापना गरेको हो । कूटनीतिक सम्बन्धको ६३ वर्षे यात्रामा नेपाल आएका सहायकमन्त्री वाट्सले आफ्नो भ्रमणको दौरानमा महत्वपूर्ण रुपमा तीन सन्देश प्रवाह गरेर फर्किए ।

नेपालको सांस्कृति सम्पदामा चासो

सहायकमन्त्री वाट्सको काठमाडौं बसाइको महत्त्वपूर्ण कार्यक्रमको रुपमा अष्ट्रेलियाद्वारा रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता रह्यो । अष्ट्रेलियाले १३ औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल पाटन संग्राहलयलाई मंगलबार फिर्ता गरेको हो । आर्ट ग्यालरी न्यू साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले टुँडाल मन्दिरका मुख्य पूजारी हेरम्बराज राजोपाध्यायलाई हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा सहायकमन्त्री वाट्स पनि उपस्थित भए । हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै अष्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यू साउथ वेल्सको प्रशंसा गरे ।

‘अष्ट्रेलियाले आज उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध छौं भन्ने तथ्य प्रदर्शन गरेको छ । यो नै अष्ट्रेलियाली जनताको र विश्वको हामी प्रतिको आशा हो,’ उनले भने,‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भएको कि अष्ट्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ र यो सम्बन्धको मुटुका रुपमा हाम्रा दुई राष्ट्रका जनताहरु रहेका छन् ।’

दूतावासले सहायकमन्त्री वाट्सले अष्ट्रेलियाका हिन्दु र बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेका र उनीहरुको सांस्कृतिक सम्बन्ध रहेको पशुपतिनाथ मन्दिर र बौद्धनाथ परिसरको पनि भ्रमण गरे । उनले पशुपतिनाथको दर्शन मात्र गरेनन्, वाग्मतीको छेउमा रुद्राक्षको माला समेत लगाएर फोटो खिचे र आफ्नो ट्वीटरमा पोष्ट गरे । उनले अस्ट्रेलियामा हिन्दु धर्म तीव्र गतिमा बढिरहेको धर्म रहेको उल्लेख पनि गरे । साथै, उनले ‘मोर्डन’ अस्ट्रेलियाले दक्षिण एसियासहित विश्वको हरेक विविधतालाई जोड्ने बताए । पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई अष्ट्रेलियामा नेपाली डायस्पोरा ठूलो भइरहेको उल्लेख गरे । ‘त्यहाँका प्रधानमन्त्रीले हाम्रो चाडपर्वका बेलामा शुभकामना सन्देश पनि दिन थालेका छन्,’ उनले भने,‘समग्रमा उनीहरुले हरेक क्षेत्रमा नेपालसँगको सम्बन्धलाई बढावा दिन थालेका छन् ।’

आर्थिक क्षेत्रमा सहकार्य

सहायकमन्त्री वाट्सले यो भ्रमणलाई अब नेपालसँग अष्ट्रेलियाले आर्थिक क्षेत्रमा सहकार्य गरी अघि बढ्ने पनि उल्लेख गरे । त्यसको लागि उनले अष्ट्रेलिया र नेपालबीचको सीधा हवाई उडानको बारेमा जोड दिए । नेपाल आउनुअघि अष्ट्रेलियामा सञ्चारकर्मीहरुसँग बोल्दै उक्त विदेशमा जोड दिएका मन्त्री वाट्सले नेपाल उत्रिने बित्तिकै भने, ‘अष्ट्रेलिया र नेपालबिच सीधा हवाई उडानहरु गर्ने लगायत हाम्रो सम्बन्ध सुदृढ गर्न नयाँ पहलहरु लिन हामी उत्साहित छौं । हामी हाम्रा दुई देशहरु र जनताहरुलाई अझ नजिक ल्याउँदैछौं ।’

अष्ट्रेलिया र नेपालबीच सीधा हवाई उडानको लागि गृहकार्य भइरहेको छ । त्यसको लागि क्यानबेरामा रहेको नेपाली दूतावास र काठमाडौंमा रहेको अष्ट्रेलियन दूतावासले सम्बन्धित सरकारी एजेन्सीहरुसँग सहकार्य गर्दै काम गरिरहेका छन् । अहिले अष्ट्रेलियामा एक लाख ३० हजार नेपाली बस्छन् । पढ्न गएर अष्ट्रेलियामै बसेका, अन्य कामको सिलसिलामा त्यतै बसेका र नयाँ पढ्न गएका विद्यार्थीहरुलाई सहज होस् तथा अष्ट्रेलियाबाट नेपालमा पर्यटक आउन समेत सहज होस् भन्ने हेतुका साथ सीधा हवाई सेवा गर्न लागिएको हो । नेपालले अष्ट्रेलियालाई काठमाडौंबाटै भिसा दिनको लागि आग्रह गरे पनि हालसम्म गरेको छैन । नेपालीहरुले अष्ट्रेलियाको भिसा नयाँ दिल्लीबाट मात्रै पाउँछन् । यस्तोमा दुई मुलुकबीच सम्बन्ध बढे, भविष्यमा अष्ट्रेलियाले सीधा हवाईका साथै भिसा पनि नेपालबाटै दिए सहज हुन्छ ।

अष्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पा दुई मुलुकबीच सिधा हवाई उडान भए धेरै व्यवसायिक र पारस्परिक सम्बन्धको लागि उचित हुने मान्छिन् । ‘नेपाल अष्ट्रेलियामा बढी विद्यार्थी पठाउने तेस्रो मुलुक हो । नेपाल र अस्ट्रेलियाबीच धेरै आवत–जावत हुन्छ । तर सिधै उडान छैन,’ उनले भनिन्, ‘सिधै उडानले सहज गर्छ । तर उडान गर्दा हरेक दिन हो कि सातामा हो, त्यस बारेमा प्रष्ट हुनु पर्छ र हाम्रा विमानहरुलाई फाइदा हुने गरी काम गर्नुपर्छ ।’

राजनीतिक सहकार्य

अष्ट्रेलियाबाट नेपालमा विरलै भ्रमण हुने गरेका छन् । यस्तोमा भएको सहायक मन्त्री वाट्सको भ्रमणले दुई मुलुकको राजनीतिक सम्बन्धलाई पनि अघि बढाउन मद्दत पुगेको छ । सहायक मन्त्री वाट्सले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र मंगलबार परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका थिए । उक्त भेटहरुमा उनले अष्ट्रेलियासँगको सहकार्य, ६३ वर्ष भन्दा पुरानो दौत्य सम्बन्ध र झाँगिदो जनस्तरको सम्बन्धहरुको चर्चा गरे ।

अष्ट्रेलियामा नेपाली समुदाय सबै भन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको पनि उनले उल्लेख गरेको दूतावासले जनाएको छ । पूर्वराजदूत शेर्पाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएसँगै पश्चिमा मुलुकहरुले नेपाललाई बढी महत्व दिन थालेको बताइन् । ‘अष्ट्रेलियाले भने नेपाललाई भारतकै आँखाले हेर्दै आइरहेको छ । अष्ट्रेलियाको विदेश मन्त्रालयमा दक्षिण एसिया युनिट हो । त्यसमा भारत हावी भइहाल्छ,’ उनले भनिन्,‘त्यसले गर्दा अष्ट्रेलियाले नेपाललाई हेर्दा जहिले पनि भारतमार्फत गर्ने गर्छ ।’ उनले अष्ट्रेलियाले हालसम्म भारतबाटै भिसा जारी गर्नुलाई पनि जोड दिइन् । (साभार इकान्तिपुर )

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services