अस्ट्रेलियाले नेपाललाई फिर्ता गर्‍यो ऐतिहासिक टुँडाल
प्रकाशित मितिः3 years ago

काठमाडौँ । अस्ट्रेलियाले १३औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरेको छ । आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माईकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तर गरेका हुन् । हस्तान्तरण कार्यक्रममा नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाका सहायक परराष्ट्रमन्त्री टिम वाट्स पनि उपस्थित थिए । कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थित थिए ।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सहायक परराष्ट्रमन्त्री वाट्सले आर्ट ग्यालरी न्यु साउथ वेल्सको प्रसंशा गरे । उनले भने,‘अस्ट्रेलियाले आज उच्च नैतिक व्यवहार र अन्तर्राष्ट्रिय मान्यताअनुसार काम गर्न प्रतिबद्ध छौं भन्ने तथ्य प्रदर्शन गरेको छ । यो नै अस्ट्रेलियाली जनताको र विश्वको हामीप्रतिको आशा हो ।सहायकमन्त्री वाट्सले थपे,‘आज उत्सव मनाउने समय हो, किनभने यो स्पष्ट भएको छ कि अस्ट्रेलिया र नेपालको सम्बन्ध फस्टाउँदै छ । यो सम्बन्धको मुटुका रुपमा हाम्रा दुई राष्ट्रका जनताहरू रहेका छन् ।’

उनले नेपालमा जलवायु परिवर्तन, प्रकोप पूर्वतयारी र सुशासनका क्षेत्रमा सहकार्य गर्न पाउँदा अस्ट्रेलियालाई खुशी लागेको बताए । ‘अस्ट्रेलिया र नेपालबीच सिधा हवाई उडान गर्नेलगायत हाम्रो सम्बन्ध सुदृढ गर्न नयाँ पहल लिन हामी उत्साहित छौं । हामी हाम्रा दुई देशहरु र जनताहरुलाई अझ नजिक ल्याउँदैछौं,’ उनले भने ।समुदायका सदस्यहरूलाई टुँडाल हस्तान्तरण गर्दै आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक ब्रान्डले अस्ट्रेलियाली सरकारसँग सहकार्य गरी नेपालको महत्त्वपूर्ण सम्पदा आफ्नै स्थानमा नेपाली जनताका साथमा फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।

‘हामी हाम्रो विगतका बारेमा बुझ्दै अगाडि बढ्छौं र अझै नजिकिँदै गरेको विश्वमा रहन पाउनु हाम्रो गर्वको कुरो हो । अस्ट्रेलियामा झांगिदै गरेका व्यवसायिक व्यक्तित्व तथा विभिन्न डायस्पोरासँग सहकार्य गर्नु र सम्बन्ध विस्तार गर्नु हाम्रो कामको महत्त्वपूर्ण पाटो हो । यी समुदायले हाम्रा अनुसन्धानका निम्ति सहयोग गर्छ र उनीहरूको स्वामित्वमा रहेका कला र सीपको बारेमा बुझ्न सहयोग गर्छ,’ उनले भने ।

(Visited 79 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services