चोरिएको ऐतिहासिक टुँडाल नेपाललाई फिर्ता गर्दै अस्ट्रेलिया
✍ नेपाली न्यूज
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपालबाट दशकौं पहिले चोरी भएको नेपालको प्राचीन शिल्पकला टुँडाल अस्ट्रेलियाले नेपाललाई फिर्ता गर्ने भएको छ । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टीम वाट्सले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई मंगलबार उक्त प्राचीन धरोहर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । १३ औं शताब्दीमा निर्माण गरिएको उक्त टुँडाल सन् १९७५ मा काठमाडौंबाट चोरी भएको थियो । चोरी गरिएको उक्त शिल्पकला करिब दुई दशकअघि अस्ट्रेलियाको सिड्नीमा रहेको आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले दानका रुपमा पाएको थियो । उक्त शिल्पकला ४ वर्षअघि सन् २०१९ मा आयोजना गरिएको प्रदर्शनीका क्रममा नेपालको भएको पत्ता लागेको थियो ।

उक्त शिल्पकला नेपालबाट चोरी भएको र नेपालको सम्पत्ती रहेको थाहा भएपछि त्यसलाई नेपाल फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको थियो । उक्त शिल्पकलालाई अस्ट्रेलियाली सहायक विदेशमन्त्री बाट्सको भ्रमणका क्रममा औपचारिक कार्यक्रम गरेर नेपाल सरकारलाई मंगलबार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । आर्ट ग्यालरी अफ न्यु साउथ वेल्सले समेत उक्त शिल्पकला नेपाललाई मंगलबार हस्तान्तरण गरिने जनाएको छ ।

अस्ट्रेलियाले हस्तान्तरण गर्न लागेको उक्त शिल्पकला काठमाडौं उपत्यकाको पाटन दरबार स्क्वायरमा रहेको रत्नेश्वर मन्दिरको हो । न्यु साउथ वेल्स आर्ट ग्यालरीका निर्देशक माइकल ब्रान्डले नेपालको प्राचीन धरोहरका रुपमा रहेको उक्त शिल्पकला नेपाललाई फिर्ता गर्न पाउँदा खुसी लागेको जनाएका छन् । ब्रान्डले मंगलबार हस्तान्तरण गरिने उक्त शिल्पकला तत्काललाई पाटनस्थित संग्राहलयमा राखिने स्थानीय समाचारसंस्था द सिड्नी मर्निङ हेराल्डलाई बताएका छन् । सहायक विदेशमन्त्री वाट्सले नेपालको धरोहर नेपाललाई नै दिन पाउनु नैतिक अभ्यास र अन्तर्राष्ट्रिय दायित्वहरूको उच्च मापदण्ड र पालनाप्रति अस्ट्रेलियाको प्रतिबद्धताअनुरूप रहेको बताएका छन् । उक्त मन्दिरमा रहेका ती टुँडालहरू चोरी भएपछि नेपाल सरकारले करिब ३० वर्षअघि मन्दिरलाई जीर्णोद्धार गर्ने क्रममा टुँडालजस्तै देखिने प्रतिकृति राखिसकेको छ ।

न्यु साउथ वेल्सको आर्ट ग्यालरीमा भेटिएको उक्त शिल्पकला नेपालको भएको पत्ता लागेपछि सन् २०२१ देखि नै नेपाल फिर्ताका लागि गृहकार्य सुरु गरिएको आर्ट ग्यालरीले जनाएको छ । बोर्डले सन २०२२ मा नेपाललाई फिर्ता गर्नका लागि अनुमोदन गरेको थियो भने गत अक्टोबरमा अस्ट्रेलियाली कानुन अनुसार न्यु साउथ वेल्स राज्यका गर्भनर्रले उक्त निर्णयलाई अनुमोदन गरेका थिए ।

एसियाली भ्रमणमा रहेको समयमा यही मंगलबार र बुधबार दुईदिने औपचारिक भ्रमणका लागि सहायकमन्त्री वाट्स नेपाल जाँदैछन् । अस्ट्रेलियास्थित नेपाली राजदूत कैलाशराज पोखरेलका अनुसार अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सले भ्रमणका क्रममा नेपालबाट दशकौं पहिले चोरी भएको उक्त टुँडाललाई पाटन मन्दिर परिसरमा मंगलबार आयोजना हुने कार्यक्रम नेपाल सरकारलाई हस्तान्तरण गर्नेछन् ।

(Visited 30 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services