अस्ट्रेलियाका सहायक विदेशमन्त्री नेपाल भ्रमणमा जाँदै
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । दक्षिण एसियाको भ्रमणका क्रममा उनले नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका हुन् । नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि उच्चस्तरीय द्विदेशीय औपचारिक भ्रमण हुन सकेको थिएन । अस्ट्रेलियास्थित नेपाली दूतावास र अस्ट्रेलिया–नेपाल पार्लियामेन्ट फोरमको पहलमा औपचारिक भ्रमणले टुंगो पाएको हो । दूतावासका साथै फोरमका सहअध्यक्ष अस्ट्रेलियाली सांसद पिटर खलिलले भ्रमणका लागि पहल गरेका थिए ।

सहायक विदेशमन्त्री वाट्सको भ्रमणबाट द्विदेशीय सम्बन्ध अझ विस्तार हुने र नेपाल अस्ट्रेलियाबीचको व्यापारिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धमा थप छलफल हुने अस्ट्रेलियास्थित नेपाली दूतावासले जनाएको छ ।अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले दशकौंपछि हुन लागेको यो बैठक दुवै देशका लागि महत्त्वपूर्ण हुने बताए । पोखरेलले विगत लामो समयपछि हुन लागेको यस औपचारिक भ्रमणबाट उच्चस्तरमा दुई देशका विविध विषयमा छलफल हुने सुनाए । ‘अस्ट्रेलियाबाट हुन लागेको यो औपचारिक भ्रमणले द्विदेशीय सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ,’ उनले भने । राजदूत पोखरेलले भ्रमण यही मे महिनाको दोस्रो सातामा हुनेसमेत जानकारी दिए ।

बंगलादेशबाट नेपालको दुईदिने औपचारिक भ्रमणमा जान लागेका सहायक विदेशमन्त्री वाट्सको भ्रमण तालिका सार्वजनिक भने गरिएको छैन । उनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीलगायतका उच्चस्तरीय नेताहरूसँग समेत भेट हुन सक्ने जनाइएको छ । तर क्यानबेरास्थित दूतावासले तत्कालका लागि परराष्ट्रमन्त्री सँगको औपचारिक भेटवार्ता मात्र तय भएको जनाएको छ । नेपाल भ्रमणको तयारीस्वरूप मन्त्री वाट्सले भिक्टोरियाका नेपालीसँग अन्तरक्रिया गरेका छन् । उनले अन्तरक्रियाका क्रममा नेपाली समुदायको सल्लाह, सुझाव तथा भ्रमणका क्रममा उठाउनुपर्ने एजेन्डाका बारेमा नेपालीका विचार सुनेका थिए । साभार इकान्तिपुर

(Visited 48 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services