कुशल भुर्तेलको फेरिएको परिचय
प्रकाशित मितिः2 years ago

काठमाडौँ । कुशल भुर्तेल भन्ने वित्तिकै, नेपालको ओपनिङ व्याटर, बिग हिटर र पावरप्ले भित्र धेरै रन जोड्न सक्ने खेलाडीका रुपमा लिईन्छ । तर, कुशलको यो परिचय पुरानो भएको छ । हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता र काठमाडौँमा सम्पन्न युएईसँगको तीन खेलको ओडिआई सिरिज मार्फत कुशलले आफुलाई ओपनर नभई फिनिसर र बलिङ अलराउण्डरका रुपमा उभ्याउन सफल भएका छन् । प्रधानमन्त्री कपमा लेगस्पिन बलिङ गर्दै नेपाल पुलिस क्लबलाई सेमीफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका कुशलले युएईसँगको सिरिजमा पनि उक्त लयलाई कायम राख्दै नवनियुक्त कप्तान रोहित र प्रशिक्षक मनोज प्रभाकरको मन जित्न सफल भएका छन् ।

युएईसँगको पहिलो एकदिवशीय खेलमा १ ओभर बलिङ गरेका उनले विकेट भने लिएनन् । दोस्रो र तेस्रोमा भने ७–७ ओभर बलिङ गरेर क्रमस: १ र २ विकेट लिए । उनले एकदिवशीय क्रिकेटको ५ इनिङ्समा १७ ओभर बलिङ गरी ५.२३ को इकोनोमीका ३ विकेट लिईसकेका छन् । कुशलले अन्तिम तथा निर्णायक खेलमा युएईका कप्तान सिपी रिजवानको समेत विकेट लिदै अन्तराष्ट्रियस्तरमा समेत बलिङका लागि योग्य रहेको प्रमाणित गरेका छन् ।

यसअघि, टिमका प्रमुख बलर तथा कप्तान सन्दीप लामिछाने फौजदारी अभियोग लागेपछि टिमबाट बाहिरिन बाध्य भएका भएसँगै, नेपालको बलिङ आक्रमण कमजोर हुन अनुमानका बीच, कुशलले लेगस्पिन बलिङमा राम्रो संभावना देखाएका छन् भने सिरिजमा नेपालको प्रमुख स्पिनरका रुपमा ललित नारायण राजवंशी रहनेछन् । कुशलको बलिङबारे प्रतिक्रिया दिदै कप्तान, रोहितले भनेका छन्, ‘कुशल दाइले बलिङका लागि धेरै परिश्रम गरिरहनुभएको हामीले देखेका छौँ, अन्तराष्ट्रियस्तरमा पनि उहाँको कन्फिडेन्ट बढ्दै गएको छ, यसले समग्र टिमलाई फाइदा पुगेको छ ।’

नयाँ प्रशिक्षक मनोज प्रभाकरले, विकेटकिपर तथा ओपनिङ व्याटर आसिफ सेखसँगै, अर्का विकेटकिपर अर्जुन साउदलाई ओपनिङ जोडीका रुपमा अघि बढाउन थालेपछि कुशलले आफुलाई बलिङ अलराउण्डरका रुपमा उभ्याउन सफल भएका छन् । प्रशिक्षक प्रभाकरले नामिबिया सिरिजमा पनि आसिफ र अर्जुनबाटै नेपालको ओपनिङ गर्ने लगभग पक्का जस्तै छ । गत सेप्टेम्बरमा केन्यासँगको तीन एकदिवशीय शृंखलामा यो जोडीको प्रदर्शनबाट सन्तुष्ट बनेका प्रभाकरले युएईसँगको तीनै खेलमा अर्जुन र आसिफलाई नै अवसर दिए ।

पहिलो खेलमा यो जोडीले २८ रनको सुरुवाती साझेदारी गर्दा आसिफले १२ र अर्जुनले एकदिवशीय अन्तर्राष्ट्रियको डेब्यू खेलमा ५१ रनको अर्धशतकीय पारी खेले । दोस्रो खेलमा दुवैले रन बनाउन सकेनन् । तेस्रो खेलमा यी दुईले २४ रनको साझेदारी गरे । अर्जुन ९ रनमा आउट भए पनि आसिफले अविजित ८८ रनसहित नेपाललाई जित दिलाए । प्रशिक्षक प्रभाकरले युएईविरुद्ध तीनै खेलमा ओपनिङ गरेका अर्जुन साउद र आशिफ शेखको जोडीलाई नेपालमा भएका अहिलेसम्मकै उत्कृष्ट भनेका छन् ।

 

(Visited 51 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services