आज नेपालमा निर्वाचन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदैछ ।प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएका छन् ।

‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नु हुन हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।

मतदानका आफ्नो घरसम्म पुग्न र मतदान गरेर काममा फर्किन सर्वसाधारणलाई सहज होस् भनेर आयोगले शुक्रबारदेखि मतदानको भोलिपल्ट सोमबारसम्म सार्वजनिक विदा दिएको छ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले आवश्यक तयारी गरिएको थपलियाले बताए ।

बल प्रयोग गरी वा डर, त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।

(Visited 99 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services