ट्विटरद्धारा व्यापक कर्मचारी कटौती
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएका छन्। एएफपी अनुसार कम्पनीले शुक्रबार ५० प्रतिशत कर्मचारी कटौती गरेको हो। मस्कले लागत घटाउनको लागि ट्वीटर इंकमा आधा कार्यबल कटौती गर्ने बताउँदै आएका थिए। उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।

‘ट्वीटरमा काम गर्ने मेरो समय सकिएको खबर सुनेर उठेँ। म दु:खी छु। म अन्योलमा छु’, अमेरिका र क्यानडाका लागि ट्वीटरका सार्वजनिक नीति निर्देशक मिशेल अस्टिनले एएफपीसँग भने। यसअघि ट्वीटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ।४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए।

ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ। यसैबीच, मस्कले ट्वीटरको कम आम्दानीका लागि अभियन्ता समूहहरूलाई दोष दिएका छन्। कम्पनीले खर्च कटौती गर्न कर्मचारी कटौती गरेसँगै अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई ट्विटरको आय कटौती गर्न दबाब दिइरहेको मस्कले आरोप लगाएका छन्।

‘ट्विटरको कमाई निकै कम भएको छ। अभियन्ता समूहहरूले विज्ञापनदाताहरूलाई दबाब दिइरहेका छन्, जबकी सामग्री मोडरेसन अपरिवर्तित छ र हामीले अभियन्ताहरूलाई खुसी पार्न सबै काम गरेका छौँ। उनीहरुले अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई नष्ट गरिरहेका छन्,’ उनले ट्वीटरमा लेखेका छन्।

(Visited 82 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services