
काठमाडौं । छठ समारोह समितिले छठ पर्व मनाउनका लागि कात्तिक १३ र १४ गते रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुन: आग्रह गरेको छ ।समितिले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी छठ पर्व मनाउनका लागि रानीपोखरी उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको हो । समितिले गत असोज ७ गते छठ पर्व मनाउनका लागि सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई निवेदन दिएको थियो ।
त्यसको सुनुवाइ नभएपछि आफूहरुले पत्रकार सम्मेलनमार्फत् सो स्थान उपलब्ध गराउन काठमाडौं महानगरपालिकालाई पुन: अनुरोध गर्नुपरेको समितिका अध्यक्ष मदन साहले बताए । उनले असनलगायतका क्षेत्रमा बस्ने ब्रतालुहरुलाई सहज होस् भनेर सो स्थानमा छठ पर्व मनाउनका लागि गरिएको आग्रहलाई काठमाडौं महानगरपालिकाले बेवास्ता गरेको गुनासो समेत गरे ।अध्यक्ष साहले भने, ‘हामीले छठ मनाउन पाउँ भनेर यो पत्रकार सम्मेलन राखेका हौं । खोली दिए धेरै राम्रो हुन्थ्यो । असनमा बस्नेहरुलाई छठ मनाउन सजिलो हुने भएकाले हामीले महानगरपालिकालाई रानी पोखरी उपलब्ध गराउन फेरी पनि विनम्र अनुरोध गर्दछौं ।’
रानीपोखरीमा २०६३ सालदेखि निरन्तर छठ पर्व मनाइदै आएकोमा त्यसको भौतिक पूर्वाधार निर्माण कार्य भएकाले केही समय रोकिएको थियो । तर यसवर्ष भने भौतिक पूर्वाधारको सबै काम सकिएकाले यही कात्तिक १३ र १४ गते विभिन्न कार्यक्रमका साथ रानीपोखरीमा भव्य रुपमा छठ पर्व मनाउने तयारी गरिएको तर काठमाडौं महानगरपालिकाले भने अझैं सो स्थान उपलब्ध नगराएकोमा पनि हामी मर्माहत भएको समितिका अध्यक्ष साहले बताए ।तराई–मधेशमा भव्य रुपमा मनाइँदै आएको छठ पर्व विगत केही वर्षयता काठमाडौं उपत्यकामा पनि भव्य रुपमा मनाउने गरिएको छ । छठ पर्वले पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services