सिड्नी । एकहप्ताअघि अस्ट्रेलियाको सिड्नीमा ज्यान गुमाएका म्याग्दीको बेनीनगरपालिका–५ पुलाचौरका नारायण सुवेदीको शब नेपाल फिर्ता पठाउन आर्थिक संकलन अभियान सुरु गरिएको छ । रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा अभियान सुरु गरिएको हो । शब व्यवस्थापन र नेपाल फिर्ताका लागि निकै ठुलो धनराशी आवश्यक पर्ने भएकाले परिवारजनको आग्रहमा आर्थिक संकलन अभियान सुरु गरिएको मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठले जानकारी दिए ।
शब व्यवस्थापन र नेपाल फिर्ताका लागि १६ हजार अस्ट्रेलियन डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । एमबिए अध्ययनका लागि तीनमहिनाअघि मात्रै सिड्नी आईपुगेका सुवेदीले यहाँको परिवेश, पढाईको दबाब र नेपालबाट आउँदा लागेको खर्चका कारण चरम मानसिक तनाबमा पुगेका थिए । सिड्नीस्थित स्टाटफिल्डमा आफन्तजनसँगै बस्दै आएका सुवेदीको निधनसँगै परिवारजन गहिरो समस्यामा परेका छन् ।
आर्थिक संकलन अभियान सुरु गरिएसँगै अस्ट्रेलियामा रहेका म्याग्देलीसँगै नेपाली साथीभाई र आफन्तजनबाट सहयोग प्राप्त भइरहेको मोना अस्ट्रेलियाले जनाएको छ । मोनाले आर्थिक संकलन अभियानलाई व्यवस्थित बनाउन सचिब दिनेश खत्रीको संयोजकत्वमा सहयोग समिति गठन गरेको छ । समितिका सदस्यहरुमा, मोना अस्ट्रेलियाका प्रवक्ता हिक्मत श्रेष्ठ, कोषाध्यक्ष सुमन बानियाँ र परिवारका प्रतिनिधीहरु रहेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services