कामदारको पक्षमा अस्ट्रेलियाली अदालतको ऐतिहासिक फैसला, ९० मिलियन डलर क्षतिपूर्ति
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः7 months ago

सिड्नी । अस्ट्रेलियाको संघीय अदालतले कामदारको पक्षमा एक ऐतिहासिक फैसला सुनाएको छ । गत कोभिड महामारीको समयमा अस्ट्रेलियाको सबैभन्दा ठुलो हवाई सेवा प्रदायक कम्पनी क्वान्टास एयरलाइन्सले आफ्ना १८२० कर्मचारीलाई अवैध रुपमा जागिरबाट निस्काशन गरेको मुद्दामा अदालतले कर्मचारीको पक्षमा फैसला गर्दै ९० मिलियन अर्थात ९ करोड अस्ट्रेलियन डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ ।

अस्ट्रेलियाको इतिहासमा कुनैपनि नीजि कम्पनीलाई उक्त परिमाणमा जरिवाना तोकेको यो नै सबैभन्दा ठुलो फैसला भएको यहाँका सञ्चारमाध्यमहरुले दाबी गरेका छन् । अस्ट्रेलियाको घरेलु र अन्तराष्ट्रिय हवाई सेवामा एकछत्र राज गरिरहेको क्वान्टासले सन् २०१९ को कोभिड महामारीपछि हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको भन्दै ग्राउण्ड ह्यान्डर, मेकानिक, प्रशासनिक र सरसफाई विधाका १८ सय २० कर्मचारीलाई अवैध रुपमा जागिरबाट निस्काशन गरेको थियो । त्यसपछि कर्मचारी युनियनले १२१ मिलियन क्षतिपूर्ति माग सहित अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको फैसला सुनाउदै संघीय अदालतका न्यायधिश माइकल लि ले ९० मिलियन डलर तिनुपर्ने आदेश दिएको हो । यो फैसलासँगै कर्मचारीहरुले क्षतिपूर्ति पाउने भएका छन् ।

आदेश अनुसार, ५० मिलियन प्रत्यक्ष रुपमा कर्मचारीहरुले पाउनेछन् भने बाँकी ४० मिलियन डलर बारे अर्को सुनुवाइपछि टुगो लाग्नेछ । अदालतको फैसलापछि क्वान्टासले विज्ञप्ति जारी गर्दै विगतमा भएको गल्तीमा क्षमायाचन गरेको बताईएको छ । ‘हामी, हाम्रो कर्मचारी र उनीहरुको परिवारप्रति माफी माग्न चाहान्छौँ’ क्वान्टासका सिइओले सञ्चारमाध्यम मार्फत माफी मागेका छन् ।

(Visited 7 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services